झिलझिले, १३ मंसिर–झापाको झिलझिलेमा आज एक कार्यक्रमीच आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित वडा कार्यालय नजिकै निर्माण हुने आधारभूत स्वास्थ्य केन्द्र वडा स्तरीय हो । सो भवनको शिलान्यास वडा अध्यक्ष केहरसिंह बस्नेतले विधिपुर्वक पुजाआजासहित गर्नुभएको छ ।

संघीय सरकार स्वास्थ्य मन्त्रालयबाट बिनियोजन रु ३८ लाख अन्तर्गत रु २६ लाख ६४ हजार १६।१३ (भ्याटसहित) मा भवन निर्माण ठेक्का लागेको छ । भवन ४ कोठाको हुने छ । भवनभित्र प्रयोगशाला (ल्याब), औषधी स्र्टोर, फार्मेसी, स्वास्थ्य परिक्षण लगायत कर्मचारी र सेवाग्राहीहरुको लागि कोठाहरु बन्ने छ ।

सो भवनको निर्माणकार्य लालीगुराँस निर्माण सेवा कम्पनी (झिलझिले) शिबसताक्षीले ठेक्का पाएको छ । लालीगुराँस निर्माण सेवा कम्पनीका प्रोपाइटर मोहन राईका अनुसार आगामी वैशाख २१ गते भवन निर्माण गर्ने समय अवधि रहेको बताउनुभयो । उनका अनुसार सो भवनलाई नगरले तोकेको मापडण्डले निर्माण हुने र तोकिएको समय अगावै सम्पन्न गरेर नगरपालिकालाई हस्तान्त्ररण गर्ने लक्ष्य छ ।

हाल, शिबसताक्षी नगरपालिकामा वडा नं ४, ६ र ११ बाहेक वडा नं १, २, ३, ५, ७, ८, ९ र १० मा वडा स्तरीय आधारभूत स्वास्थ्य केन्द्रहरु निर्माणधिन अवस्थामा छ भने कतिपय वडाहरुमा भवन निर्माणका जग्गा खोजी भइरहेको नगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत एबम् सुचना अधिकारी प्रकाश चौधरीले बताउनुभयो ।

सुचना अधिकारी चौधरीका अनुसार वडा नं ४ पाँचगाछी जनता बजारमा पाँचगाछी स्वास्थ्य केन्द्र, वडा नं ६ शिबगञ्ज बजारमा प्राथमिक स्वास्थ्य केन्द्र शिबगञ्ज र वडा नं ११ झिलझिलेमा सतासीधाम स्वास्थ्य केन्द्र छन् । यी केन्द्रहरु मार्फत वडावासीहरुले स्वास्थ्य सेवा लिइरहेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *