धरमपुर (मंगलबारे), १३ मंसिर–झापाको शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारेमा हालै मात्र स्थापना भएको व्याङ्गडुक्रा कृषि सहकारी संस्थाले आज प्रारम्भिक चरणको साधारसभा सम्पन्न गरेको छ ।
शनिबार, संस्थाको कार्यालय मंगलबारे बजारमा साधारणसभाको उद्घाटन प्रदेश १ का सांसद एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलकसिंह दर्लामी मगरले गर्नुभएको छ ।
खासगरी, शिबसताक्षी–२ र ३ का ग्रामिण क्षेत्रका कृषकहरुको सहभागितामा व्याङ्गडुक्रा कृषि सहकारी संस्था स्थापना भएको हो ।
सो कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरु लगायत स्थानीय कृषकहरुलाई कृषि औजार, मल, वीउ, वीजन, औषधी लगायत खेतबारी जोत्नलाई प्रयोग गरिने ट्याक्ट्रर अन्तर्गत हलो वा रोडाभेटर, थ्रेसर र ढुङ्गा, गिटी, बालुवा ढुवानीमा सहज बनाउने उदेश्यले संस्था स्थापना गरिएको हो ।
संस्थाको अध्यक्ष कृष्णप्रसाद गौतमको अध्यक्षातामा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद एबम् नेकपाका नेता दर्लामीले वित्तिय कारोबार गर्नलाई मात्र सहकारी संस्थाको स्थापना नहुने भन्दै कृषकहरुको जनजिविकाको विकास र यान्त्रिक प्रविधि मार्फत कृषकहरुलाई सहज बनाउन कृषि सहकारी संस्था स्थापना भएकोमा संञ्चालक समिति र शेयर सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
कार्यक्रममा नेकपा शिबसताक्षीका कार्यालय सदस्य एबम् सतासी साप्ताहिक पत्रिकाका प्रधान सम्पादक प्रेम याम्फु राई, आदीवासी जनजाति शिबसताक्षीका अगुवा युवा नेता नेत्र नेम्बाङ, युवा नेता दिलिप बुडाथोकी लगायतका स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
तीन महिना अघि मात्रै व्याङ्गडुक्रा कृषि सहकारी संस्थाको स्थापना भएको हो । साझा प्रकाशन संस्था काठमाण्डौका अध्यक्ष एबम् तत्कालिन धरमपुर गाविसका अध्यक्ष होमप्रसाद गौतमले संस्थाको कार्यालय उद्घाटन गर्नुभएको थियो ।
सहकारी संस्थाले सो कार्यक्रममा अध्यक्ष गौतमले संस्थाको आर्थिक बर्षका कार्य प्रगतीसहित आगामी बर्ष गरिने योजना र लक्ष्यका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष गौतमका अनुसार सहकारी संस्थामा दुईवटा ट्याक्ट्रर रहेको र एउटा थ्रेसर छ । हलोसहितको सो ट्याक्ट्ररले प्रति घण्टा रु ९ सय, रोडाभेटरको मूल्य प्रति घण्टा रु १ हजार र थ्रेसरमा २५ टिना बापत १ टिना धान पर्ने हुन्छ ।
