काठमाडौं, १३ मंसिर–ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीको संरक्षक भएको आरोपसहितको रिपोर्ट सार्वजनिक गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यही भाषा बोलेको छ।

कांग्रेसले पनि प्रधानमन्त्री ओली भ्रष्टाचारको संरक्षक नै भएको आरोप लगाएको छ। कांग्रेसले धेरै पहिलेदेखि प्रधानमन्त्रीले भ्रष्टाचारीको संरक्षण गर्दै आएको आफ्नो भनाइ ट्रान्सपरेन्सीको रिपोर्टबाट पुष्टि भएको जनाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै ट्रान्सपरेन्सीको उक्त रिपोर्टका विषयमा सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्न अनिवार्य भएको पनि बताएका छन्।

‘वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक रुपमा बढेको दाबी गर्दै कांग्रेसले प्रधानमन्त्री स्वयंले संरक्षण गरेको भनेर आफ्नो समीक्षालाई अन्ततः ट्रान्सपरेन्सीको ताजा प्रतिवेदनले पुष्टि गरेको छ’, विज्ञप्तीमा भनिएको छ।

कांग्रेसले पछिल्लो एक वर्षमा एशियाली मुलुकमध्ये नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि आउनु अत्यन्तै दुःखद भएको पनि बताएको छ। ‘पछिल्लो एक बर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखद त छ नै भ्रष्टाचारीको संरक्षण स्वयम् प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेकोे स्थिति देशकै लागि लज्जास्पद समेत छ,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा यसबाट गम्भीर असर पुगेको स्थिति दृष्टिगत गर्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्न अत्यन्तै अनिवार्य भएको छ।’

भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्दै अनेक प्रकरणहरु ढाकछोप गर्न प्रधानमन्त्रीले ओहदाको मर्यादा नै बिर्सिएको कांग्रेसको आरोप छ।

‘एकातर्फ भ्रष्टारचारीको अनुहारसम्म हेर्दिनँ भनेर अभिव्यक्ति दिने अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेर अति शक्तिले अति भ्रष्ट बनाउँछ भन्ने मान्यतालाई पुष्टि गर्नेतर्फ लाग्ने अनि भ्रष्टाचारविरुद्धको उठेका आवाजलाई पुर्वाग्रहपूर्ण देख्ने प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढ्ने अनुमान गर्न सकिन्छ।’

कांग्रेसले वाइडबडी खरिद, बालुवाटारको जग्गा, यति र ओम्नीदेखि सेक्युरिटी प्रिन्टिङ र स्वास्थ सामग्री खरिदसम्ममा भएको भ्रष्टाचार प्रकरण छानबिन र कडा कारबाहीको माग राख्दै आएको जनाएको छ।

उसले आफ्ना कुरालाई ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो प्रतिवेदनले तथ्यपूर्ण रहेको पुष्टि गरेको जनाएको छ। त्यस्तै स्वदेशी लगानीमा निर्माण गर्न सकिने बूढीगण्डकी जलविद्युत परियोजना विवादास्पद कम्पनीलाई सुम्पिएको भन्दै त्यसलाई तत्काल छानबिनको दायरामा ल्याउन पनि कांग्रेसले माग गरेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *