काठमाडौं, १४ मंसिर–पछिल्लो साता कोरोना भाइरसको परीक्षण ह्वात्तै घटेको छ। सरकारी प्रयोगशालाहरूमा क्षमताअनुसार परीक्षण नहुँदा परीक्षण संख्या घटेको हो।

अहिले ४४ सरकारी र ३३ निजी गरी ७७ वटा प्रयोगशालामा परीक्षण भइरहेको छ। निजीको तुलनामा सरकारी प्रयोगशालामा निकै कम परीक्षण भइरहेको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको दैनिक १५ सय जनाको परीक्षण क्षमता भए पनि औसत दुई सय जनाको मात्र परीक्षण भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रयोगशालामा शनिबार २ सय ७० र शुक्रबार १ सय २४ जनाको परीक्षण भएको छ।

जनशक्ति र पूर्वाधारका हिसाबले देशकै ठूलो प्रयोगशाला भएर पनि सरकारले टेकु प्रयोगशालामा परीक्षण बढाउन सकेको छैन। अन्य सरकारी प्रयोगशालाको हालत यस्तै छ। चितवनस्थित भरतपुर अस्पतालमा रहेको प्रयोगशालामा भने गत दुई दिनदेखि परीक्षण नै भएको छैन।

यसरी सरकारी प्रयोगशाला सक्रिय नहुँदा यसको लाभ भने निजी प्रयोगशालाले लिइरहेका छन्। शनिबारमात्र निजी प्रयोगशाला अल्फा हेअल्थ केयरले एक हजार ४४२ जना र स्टार अस्पतालले ५७१ जनाको नमूना परीक्षण गरेका छन्।

शनिबार कुल ९ हजार ३६८ जनाको परीक्षण गरिएमध्ये ४ हजार ९५४ जनाको निजी प्रयोगशालामा परीक्षण भएको छ।

पछिल्लो एक सातामा निजी प्रयोगशालामा ३४ हजार ९८२ जनाको परीक्षण हुँदा सरकारी प्रयोगशालामा ३२ हजार ८०३ जनाको परीक्षण भएको छ।

सरकारले दैनिक २६ हजार जनाको परीक्षण गर्न सक्ने दाबी गर्दै आए पनि परीक्षण भने घट्दै गएको छ। एक सातायता मात्र दैनिक औसत साढे ९ हजार जनाको मात्र परीक्षण भएको छ। त्यसमा पनि बढी परीक्षण निजी प्रयोगशालामा भएको छ।

-सेतोपाटीबाट

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *