बिर्तामोड, १५ मंसिर–झापाका विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगर र नगदसहित आठ जना पक्राउ परेका छन् ।
प्रहरीले आइतबार झापाको शिवसताक्षी नगरपालिकाबाट दुई जना, भद्रपुर नगरपालिकाबाट छ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट ३५ ग्राम ब्राउनसुगर र रू एक लाख ८४ हजार नगद बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो शिवसताक्षी-६ हवल्दार चौकमा मे ५ प ५०३२ नं को मोटरसाइकलमा आउँदै गरेको शिवसताक्षी-४ का २६ वर्षीय श्याम मर्डी र सोही स्थानका ३५ वर्षीय गंगाराम कायस्थलाई रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट २३ ग्राम ब्राउनसुगर, मोबाइल दुई थान र नगद रु एक लाख ८४ हजार बरामद गरेको थियो ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।
यसैबीच, आइतबार बेलुका भद्रपुर-४ स्थित डाँगीबारीबाट भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुर-४ का १९ वर्षीय पुष्कर थापा, २१ वर्षीय राजन माझी, भद्रपुर–५ का २६ वर्षीय मदन बिक र हल्दिबारी गाउँपालिका–१ का ३२ वर्षीय लोकेन्द्र गुरागाईंलाई सात ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
आइतबार नै जिल्ला अदालत झापाबाट म्याद थप गरी कानूनी कारबाही अघि बढाइएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।
त्यस्तै, भद्रपुर नगरपालिका-४ स्थित नरसिंह बगानबाट आइतबार प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बिहार गलगलिया–४ का १९ वर्षीय महमद जबर र सोही स्थानका ५९ वर्षीय ऐजुब महमद अली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
विशेष सुराकका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार बिहान ११ बजे पक्राउ गरेको हो । चेकजाँचका क्रममा उनीहरुको साथबाट ५ ग्राम ब्राउनसुगर फेला परेको थियो । पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान भइरहेको छ ।
