धरमपुर, १४ मंसिर–विदेशको भूमिमा श्रम र पसिना बगाएर कमाएको पैसा आफ्नो र परिवारको गाँसलाई कटाएर सहयोग सङ्कलन गरेको रुपैयाले झापाको धरमपुरमा महिला तथा अपाङ्गमैत्री सार्वजनिक सौचालय निर्माण कार्य सुरु गरिएको छ । तर, पछिल्लो समय सौचालयको मुख्य भवन निर्माण कार्य सम्पन्न भएपनि भवनभित्रको अधिकास कामहरु सम्पन्न गर्न आर्थिक अभाव भएको छ ।

रोजगारीको शिलशिलामा विभिन्न मुलुकहरुमा छरिएर रहेका शिबसताक्षी–१, २ र ३ (धरमपुर) घर भएका उत्साहित युवाहरुद्धारा सङ्कलित रु ८ लाख ४२ हजार ८ सय १५ मध्ये रु ७ लाख ४५ हजार नौ सय ५६ सौचालयमा खर्च भएको छ । सौचालय निर्माणको ७५ प्रतिशत काम पुरा भयो तर पछिल्लो समय निर्माणधिन भवनको काम पुरा गर्न आर्थिक समस्या भएको हो ।

प्रवासमा बसोबास गर्ने धरमपुरवासीहरुको साझा संस्था धरमपुर विकास अन्तराष्ट्रिय महासंघ मार्फत धरमपुरमा सार्वजनिक सौचालय निर्माण गरिएको हो । सो संस्थाका अध्यक्ष एबम् धरमपुर सार्वजनिक सौचालय निर्माणका अभियान्ता लोकेन्द्र (एल) नेम्बाङका अनुसार सौचालय निर्माणमा खर्च अनुमानीत रु ११ लाख हो । उनले विश्वका विभिन्न मुलुकहरुमा छरिएर रहेका अन्दाजी ८/१० देशका धरमपुरवासीहरुबाट सो रुपैया सङ्कलन गर्ने लक्ष्य राखिएको थियो तर सहयोग घोषणा गरेका केही नामको रुपैया प्राप्त नभएको बताए ।

महासंघका अध्यक्ष नेम्बाङ साउदी मार्फत दक्षिण कोरिया, कतार, मेलेशिया, बराइन, इजरायल, दुबई लगायतका मुलुकहरुमा रोजगार गरिरहेका धरमपुरवासीको सहयोग सङ्कलन गरेका थिए । अध्यक्ष नेम्बाङका अनुसार सार्वजनिक सौचालय निर्माणमा सहयोग गर्ने धेरै मुलुकहरुका धरमपुरे दाजुभाई र दिदी-बहिनीहरुबाट प्रतिवद्धता गरेका थिए ।

सौचालय निर्माण सुरु भएसँगै केहीले प्रतिवद्धता गरेका सहयोग रुपैया धरमपुरस्थित वित्तिय संस्थामा पठाउदै थिए, नेम्बाङले भने-‘केहीले उत्साहका साथ सहयोग रुपैया दिए, केहीले घोषणा गरेका रुपैया दिन आनाकानी गरे ।’

यता, धरमपुरमा महिला तथा अपाङ्ग मैत्री सार्वजनिक सौचालय निर्माण समितिका संयोजक नेत्र नेम्बाङका अनुसार बजेटको अभावमा काम रोकिएको छ । उनले सौचालयको सम्पूर्ण काम सम्पन्न गर्न थप रु ५ लाखदेखी ७ लाखसम्म खर्च हुने अनुमान गरिएको बताए ।

निर्माण समितिका संयोजक नेम्बाङका अनुसार सौचालय निर्माणमा नगरपालिकाले वडा कार्यालय मार्फत रु १ लाख ५० हजार बिनियोजन भएको छ । सो रुपैयाले सौचालयको भित्री तर्फका केही कामहरु सम्पन्न गरिनेछ, निर्माण संयोजक नेम्बाङले भने-‘महिला र अपाङ्ग मैत्री सौचालयका निम्ति आवश्यकीय सामाग्रीहरु खरिद गर्नुका साथै सौचालय व्यवस्थापनमा केही रुपैया खर्च हुनेछ ।’

नगरले यसअघि, सौचालयसम्म आवत-जावत गर्न चौकको उत्तरतर्फ ट्रसबिज निर्माण गरेको छ ।

निर्माण समितिका संयोजक नेम्बाङले थप बजेटका निम्ति संघीय सांसद र प्रदेश सांसदसँग सार्वजनिक सौचालय निर्माण सम्बन्धी भेटघाट र छलफल भएको बताए । उनका अनुसार दुबै सांसदले सौचालय निर्माणमा सहयोग गर्ने आश्वासन पाएको र वहाँहरुबाट सौचालय निर्माणमा थप बजेट पाउने आशा छ ।

धरमपुर चौकको उत्तरतर्फ रतुवा-माई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा सार्वजनिक सौचालय निर्माण भइरहेको छ । धरमपुरहुदै दक्षिणतर्फ शुक्रबारे, मंगलबारे, पाराबारी, पाँचगाछीबाट बैगुनधुरा-महाभारासम्म पुग्न यात्रीहरु यसै सडकको प्रयोग गर्छन् । उनै यात्रीहरु र बुधबारे हाँट बजारमा आगान्तुकहरुका लागि सौचालय आवश्यक रहेको धरमपुर बजार समितिका अध्यक्ष एबम् युवा व्यवसायी लीलाकुमार जोशीले बताए । उनले स्वास्थ्य, शिक्षा र मानव विकासको मुख्य कार्यक्रमहरुबीच सार्वजनिक सौचालय प्रमुख भएको बताए । उनले धरमपुरमा महिला तथा अपाङ्ग मैत्री सार्वजनिक सौचालयको अधुरो रहेको काम सम्पन्न गर्न बजार व्यवस्थापन समिति र आफ्नो व्याक्तिगत तर्फबाट सकारात्मक सहयोग रहनेमा विश्वास व्यक्त गरे ।

अध्यक्ष जोशीका अनुसार धरमपुर चौकबाट छोटो दुरीका लागि सञ्चालन हुने हलुका सवारी साधनहरुलाई पार्किङस्थल समेत सौचालय आसपासमा बनाइने योजना छ ।

त्यसैगरी, धरमपुरको विकास निर्माणमा नेतृत्वदायी भूमिका खेलिरहनुहुने प्रदेश सांसद झलकसिंह दर्लामीका स्वकीय सचिव एबम् नेकपा शिबसताक्षीका नेता दुर्गा नेम्बाङले कोरोना संङ्क्रमणको महामारीले गर्दा रोकिएको काम अव पुरा हुने बताए । उनले सौचालय निर्माणमा नगरपालिकाले महत्वपूर्ण भूमिका नदेखाएको प्रति दुखेसो व्यक्त गरे । उनले नगरले आफ्नो दायित्व पुरा गर्ला या नगर्ला तर हामीहरु सौचालय निर्माणमा सफलता प्राप्त गरिने बताए ।

सार्वजनिक सौचालय निर्माण समितिका सल्लाहकार सदस्य समेत रहेका नेम्बाङले शिबसताक्षी नगरकै व्यवस्थित र नमुना सौचालय निर्माण गरेर देखाउने बताए ।

धरमपुर ग्रीन पार्क निर्माण समितिका अध्यक्ष एबम् धरमपुर बजार व्यवस्थापन समितिका सल्लाहकार चन्द्रवीर नेम्बाङले धरमपुरलाई राम्रो र हाम्रो बनाउन सम्पूर्ण धरमपुरवासीको साझा योजना र सक्रिय सहभागिता हुन जरुरी रहेको बताए । उनले तीब्र गतिमा बजारीकरण हुदै गरेको धरमपुरमा बुधबार लाग्ने हाँट बजार र धरमपुर चौकबाट दक्षिणी ग्रामिण क्षेत्रहरुमा आवत जावत गर्ने यात्रीहरुका लागि सौचालय, प्रतिक्षालय र सवारी पाकिङको निम्ति व्यवस्थित ठाउँ बनाउन जरुरी रहेको बताए ।

शिबसताक्षी नगरका बुद्धिजीवी तथा सौचालय निर्माण समितिका सल्लाहकार नेम्बाङले सौचालय निर्माण कार्यलाई चाडै सम्पन्न गरेर सोही स्थानमा सवारी साधन पाकिङस्थल, विट प्रहरी र प्रतिक्षालय बनाइने हाम्रोसरोकारलाई जानकारी गराए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *