विराटनगर, १८ मंसिर–कोभिड महामारीबीच लक्ष्यणसहितका संक्रमित थपिने क्रम बढेको छ । यहीबीच प्रदेश–१ सरकारले प्रदेश राजधानी विराटनगरमा एक हजार बेड क्षमताको कोभिड अस्पताल बनाउने घोषणा गरेको तीन महिना बितिसकेको छ । तर, सरकारले घोषणा गरेको कोभिड–१९ अस्पालको पत्तोपत्तो छैन ।

निजी क्षेत्रको सक्रियता र सझोदारीमा बनाउन शुरु गरिएको कोभिड केयर सेन्टर पनि संचालनमा आउन सकेको छैन । प्रदेश सरकारले लक्ष्यणसहितका बिरामीलाई सेवा दिने गरी निजी क्षेत्रको प्रस्ताव स्वीकार गरी केयर सेन्टर निर्माण थालिएको थियो । तिहारअघि नै संचालन तयारी भएपनि ढिलाइ भएको छ ।

विराटनगर–१० को रोडशेष चोक दक्षिण नेशनल ट्रेडिङ कम्पनीको परिसरभित्र हाल कोसी कोभिड–१९ अस्पताल संचालनमा छ । त्यसलाई नै विस्तार गर्ने गरी हजार क्षमताको अस्पताल संचालन गर्ने निर्णय भएको थियो । तर, अस्पताल बनाउने र यसको संचालनको अझै अत्तोपत्तो छैन । चिसो बढ्न शुरु भएँंगै कोरोना संक्रमण फैलने त्रास उत्तिकै छ । प्रदेश राजधानी विराटनगरसहित झापा र सुनसरी संक्रमणको केन्द्र बनेका छन् ।

सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा अस्पताल विस्तार गर्ने सरकारले घोषणा गरेको थियो । बजेट पनि विनियोजन भएको थियो । तर, पूर्वाधार व्यवस्थापनको काम अझै बाँकी रहेको मन्त्रालयको दाबी छ । हजार बेडको अस्पताल नबनाएपछि निजी क्षेत्रले प्रस्ताव गरेको सय बेड क्षमताको नागरिक केयर सेन्टरतर्फ सरकार पनि लागेको छ ।

प्रदेश सरकार र निजी क्षेत्रको नागरिक केयर सेन्टरको संयुक्त लगानीमा नयाँ अस्पताल बनाउन लागिएको हो । नेसनल ट्रेडिङ कम्पनीको गोदाम घरमा हाल रङ्गरोगन, एसी जडान र बिजुलीबत्तीलगायत पूर्वाधार जडानको काम भइरहेको छ । तर, काम सोचे जसरी अघि बढ्न भने सकेको छैन ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले नागरिक केयर सेन्टर संचालनमा आएपछि उपचारमा थप सहजता हुने बताउँदै आएका छन् । उनले सरकारले कोसी अस्पतालमा समेत लक्ष्यणसहितका बिरामीलाई प्राथमिकता दिएर उपचार गरिरहेको दाबी गरेका छन् । नागरिक केयर सेन्टरको निर्माणमा निजी क्षेत्रबाट उद्योगी तथा पूर्वसांसद पवनकुमार सारडा संयोजक रहेको समितिले निजी क्षेत्रबाट सहयोग जुटाएको थियो । लक्षणसहितका बिरामीहरु बढ्न थालेछि अहिले सरकारी अस्पतालमा ठाउँ पाइनै कठिन छ ।

अस्पतालहरुमा आईसीयू, भेन्टिलेटर र अक्सिजन अवाश्यक पर्न थालेपछि नागरिक केयर सेन्टरमा एकसय शैयाको व्यवस्थापन हुन लागेको हो । यसमा प्रदेश सरकारले रु २ करोड र निजी क्षेत्रबाट रु १ करोड ५० लाख रुपैयाँ लगानी भएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले यो काम सकारात्मक भएको बताउँदै भने, ‘यसमा महानगरले पनि सहयोग गरेको छ । निजी क्षेत्रले पनि सहयोग गरेको छ ।’

उता, मोरङको जहदा गाउँपालिकाले पाँच शैयाको कोभिड–१९ आइसोलेसन अस्पताल शुरु गरेको छ । प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले सोमबारदेखि वडा नंं ५ स्थित मझारे स्वास्थ्य चौकीलाई नै कोभिड अस्पतालको रुपमा संचालन गरिएको जानकारी दिएका छन् । उनले भने, ‘ग्रामीण भेगमै कोभिडका लक्ष्यणसहितका बिरामीलाई उपचार गर्न आइसोलेसन सञ्चालन गरेका हौं ।’ यसको लागि संघीय सरकारले रु १० लाख सहयोग गरेको गाउँपालिकाले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *