दमक, १९ मंसिर–भोलि (शनिबार) हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको वृहत मोटरसाईकल रयालीको तयारी तीव्र पारिएको जनाएको छ । झापामा हुने वृहत् कार्यक्रममा दशौँ हजारको संख्यामा प्रदर्शनकारी उतार्ने राप्रपाको तयारी छ ।
स्वस्फूर्त रूपमा राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा देशभर भइरहेको र्यालीप्रति ऐक्यवद्धता जनाउँदै राप्रपा झापाले मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गर्ने तयारी गरेको हो ।
देशव्यापी आन्दोलनमा ऐक्यवद्धता जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा भने आफैँ प्रदर्शनको आयोजना गर्दैछ ।
राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा जनदवाब सिर्जना गर्न राप्रपा झापाले शनिबार विशाल मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको हो ।
रयालीमा राप्रपासहित विश्व हिन्दु महासंघ, केशर बहादुर विष्टको राष्ट्रिय शक्ति नेपाल, हरिवोल भट्टराईले नेतृत्व गरेको नेपाली कांग्रेस (वीपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस (राष्ट्रवादी) र शिवसेना नेपाल लगायतका दलहरु, धार्मिक संस्थाहरु समेत छन् ।
झापामा हुने प्रदर्शनको नेतृत्व संघीय सांसद् तथा राप्रपा नेता राजेन्द्र लिङ्देनले गर्दैछन् । उनी झापा क्षेत्र नम्बर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभावलगायत जनजिविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न र्यालीको आयोजना गर्न लागिएको लिङ्देनले बताए ।
सांसद लिङदेनले र्यालीमा समान विचार राख्ने सबै व्यक्ति, संगठन र पार्टीलाई राष्ट्रिय झण्डा, आ-आफ्नो संस्था, संगठन र पार्टीको झण्डासहित सहभागी हुन अपिल गरेका छन् ।
यस्तो छ झापाको कार्यक्रम
शनिबार झापामा हुने प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टा प्रस्थान गर्नेछन् । हरेक स्थानीय तहबाट ११ बजे र्याली निस्कने र काँकडभिट्टा जानेछ । दिउँसो साढे १२ बजे काँकडभिट्टाबाट एकीकृत र्याली प्रारम्भ हुनेछ ।
साढे एक बजे बिर्तामोडमा संक्षिप्त सभासहित कार्यक्रम सम्पन्न हुने प्रचारप्रसार समितिका संयोजक रञ्जित प्रसाईंले बताए । कार्यक्रममा सहभागी हुनेले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने बताइएको छ ।
र्यालीको पूर्व सन्ध्यामा आज विहान राप्रपा निकट मिडिया नेपालले जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी शान्तिपूर्ण प्रदर्शनमा उत्साहजनक सहभागिता रहने जनाएको छ ।
कोरोना संक्रमण र यसबाट सिर्जित परिस्थितिकाबीच सरकार आन्तरिक विवादमा फसेको जनाउँदै राप्रपा नेताहरुले जनताका पक्षमा आफ्नो प्रदर्शन केन्द्रीत गर्ने जनाएका छन् ।
राप्रपा झापाका अध्यक्ष अमरबहादुर विष्टले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप भए त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए । प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय उपाध्यक्ष एवम् र्यालीका संयोजक ध्रुव उप्रेतीले १० हजार मोटरसाइकल र तीनसय वटा भन्दाबढी साना गाडीमा मानिस सहभागी हुने निश्चित भएको बताए ।
