काठमाडौं, २० मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट पारेका छन् । शनिबार दिउँसो चार घण्टा चलेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने बताएका हुन् ।
‘तपाईंहरूले विधि, पद्धति, प्रक्रिया बैठक भन्दै बहस गरिरहनुभएको छ । तलतल पनि बहस लगिराख्नुभएको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवालयका नेताले भने, ‘महाधिवेशन अघि पार्टी अध्यक्ष र आमचुनावअघि नै मलाई प्रधानमन्त्रीबाट हटाउन लागिएको हो भने बैठकको कुनै औचित्य छैन । म यी दुवै पद छाड्दिनँ ।’
उनले ठोस प्रस्ताव, कार्यसूची र तयारी पनि नभएकाले भोलिको स्थायी कमिटी बैठक रोक्नुपर्ने बताएका थिए । तर, अरू सचिवालय सदस्यहरूले रोक्न नहुने र सचिवालयमा पेस भएका सबै दस्तावेज छलफल गर्नुपर्ने बताएका थिए ।
‘कुनै प्रस्ताव छैन । तयारी पनि छैन । सहमतिमा के गर्ने भन्ने पनि तय भएको छैन,’ ओलीको भनाइ उद्धृत गदै ती सदस्य भन्छन्, ‘स्थायी कमिटी बैठक राखेर के गर्नुहुन्छ रु केका लागि बैठक चाहिएको हो ।’
प्रधानमन्त्री ओली जाने, नजाने टुङ्गो नलागे पनि आइतबारको एक बजेका लागि तय भएको स्थायी कमिटी बैठक भने नरोकिने ती सदस्य बताउँछन् ।
