काठमाडौं, ६ पौष–निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विघटन भएको संसद् अदालतबाट पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

सोमबार मन्त्रालयमा आयोजित औपचारिक बिदाइ कार्यक्रममा भट्टराईले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद् पुनःस्थापना हुने विश्वास व्यक्त गरेका हुन् ।

लोकतान्त्रिक प्रक्रियामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उनले उल्लेख गरे ।

उनले भने, ‘‘यदि, यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् भने विवेक पुर्‍याउँछन् । शतप्रतिशतभन्दा पनि बढी विश्वासका साथ भन्छु, संसद् पुनःस्थापना हुन्छ । मुलुकप्रति, संविधानप्रति जवाफदेही छन् भने शतप्रतिशत संसद् पुनःस्थापना हुन्छ । हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’’

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव गर्दा आफूहरुले रोक्ने धेरै प्रयास गरे पनि सम्भव नभएको बताए ।

प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक रहेको उल्लेख गर्दै उनले भने, ‘‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन । कानुन र संविधानको हिसाबले मेल खाँदैन । राजनीतिक हिसाबले राजनीतकि मूल्यलाई बोकेको छैन । जुनसुकै कारणले भएपनि यो अलोकतान्त्रिक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो, गर्नुभयो । दुःखी छौँ ।’’

भट्टराईको बिदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै फूलगुच्छा र मायाको चिनो दिए ।

आइतबारको विकसित राजनीतिक घटनाक्रमसँग मन्त्री भट्टराईले आइतबारै आफ्नो राजीनामा घोषणा गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *