काठमाडौं, ७ पौष–नेकपाका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको सरकार भंग भएको बताएका छन् । मंगलबार प्रचण्ड–नेपाल समूहको बैठकमा सम्बोधन गर्दै उनले संसद् विघटनको निर्णय गरेपछि नै ओली नेतृत्वको सरकार भंग भएको बताएका हुन् ।

‘संसद् भंग भएको छैन । संविधानले संसद् भंग भएको होइन । भंग भएको केपीको सरकार हो । संविधानतः अस्तित्व विघटनको सिफारिस गरेपछि केपी सरकार भंग भयो । वैधानिक ढंगले संसद् भंग भएको छैन । संविधानले कल्पनै गरेको छैन । संसद् जीवित छ भनेर ठान्नुपर्‍यो,’ बैठकमा प्रचण्डले भने ।

प्रचण्डले संविधानअनुसार प्रधानमन्त्रीलाई कुनै अधिकार नदिएकाले संसद् जीवीतै रहेको बताए । ‘हिजो मैलै मान्य सदस्यहरुलाई भनेको थिएँ । हामी मरेकै छैनौं । हामी जीवित छौं। हामी अदालत जान्छौं । अदालतमा भन्छौं बहुसंख्यक मान्यहरु गएर विघटन भएको संसद् होइन सरकार हो श्रीमान्, भन्नुपर्ने भयो । हामीले आज रिट निवेदन पनि हालेका छौं,’ उनी भन्छन् ।

प्रचण्डले संसद् विघटन सम्पूर्ण रुपमा पोलिटिकल कोर्स बदल्नका लागि षड्यन्त्र भएको समेत बताए । उनले अब अदालतप्रति विश्वास रहेको पनि बताए । “हामीलाई अदालतप्रति भरोसा छ । अदालतले संविधानको प्रावधान र जनभावना तथा बाँकी दलहरुको पनि कुरा बुझ्ने छ । यो असंवैधानिक, अलोकतान्त्रिक र असंवैधानिक निर्णयलाई समर्थन गर्ने छैन । देशको स्थिरताको पक्षमा निर्णय गर्नेछ भन्ने विश्वास छ,’’ प्रचण्डले भने, “तर सडकमा जनतालाई परिचालित गर्न सकेनौं भने भइहालेछ भन्ने स्थिति छैन् । सडकमा जोडतोडले लाग्नुपर्छ ।’’

उनले पार्टी एकताको साढे दुई वर्षमा विचित्रको भएको बताए । पार्टी बैठककलाई अनुनय-विनय गर्नुपर्ने अवस्था विचित्र रहेको बताए । पछिल्लो सचिवालय बैठकबारे सम्झँदै भने, ‘उहाँले बैठकमा झन्डै डेढ घण्टा बोल्नुभयो । हामीले तयार पारेको प्रस्तावमाथि गाली गर्नुभयो । उहाँले यसमा छलफल नै हुन पाइँदैन भन्नुभयो । जब मैले बैठकमा केही भन्न खोजेको थिएँ । उहाँले बोल्न पाइँदैन भन्नुभयो । सीमाबाहिर गएर बोल्न पाइँदैन भनेर कार्यकारी अध्यक्षलाई रोक्नुभयो । बोल्न पनि नपाउने त्यो अधिकार उहाँले कहाँबाट पाउनु भो ?’ उनको प्रश्न थियो ।

बैठकमा प्रचण्डले कुर्सी हटाएको प्रसंग पनि सुनाए । उनले कुर्सी सारेकै भएकाले अन्य नेताहरुको मोर्चामा आइपुगेको बताए । “मैले कहिलेकाहीँ भन्ने गरेको छु । केपी पीडित मोर्चा भयो है यो । केपीको निरंकुशतावादी प्रवृत्ति, केपीको मार्क्सवाद विरोधी, श्रमजीवी पीडितहरुको मोर्चा भयो,’’ उनले सुनाए ।

प्रचण्डले ओलीलाई फेरि स्थान दिने पनि बताए । ‘केपी ओलीले गल्ती गरेँ, जनताप्रति अन्तरघात गरेँ, मैले पार्टी र सरकार चलाउन सकिनँ, पार्टी होइन गुट चलाएँ भनेर आत्मालोचना गरेर आए हामीले पार्टीमा फेरि पनि स्थान दिन्छौँ,’ उनको भनाइ थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *