बीबीसी, ८ पौष–कोरोना महामारीले भव्य रुपमा विवाह गर्ने धेरै व्यक्तिको सपना चकनाचुर पारिदिएको छ । सय–दुईसय भन्दा धेरै पाहुनाहरुको उपस्थितीमा भव्य रुपमा विवाह गर्ने भारतका विवाह समारोहरु यो पटक ४०/५० निकट पारिवारिक सदस्यहरुको उपस्थितीमा मात्रै सिमित भए ।

यस्तै अवस्था नेपालमा पनि रह्यो । तर हालै मलेसियाका एक जोडिले भने १० हजार पाहुनाको उपस्थितीमा विवाह सम्पन्न गरेको छ । २० जना मात्रै पाहुना बोलाउन अनुमति दिएकोमा उनीहरुले १० हजार पाहुना बोलाए ।

कोरोना महामारीका बेला १० हजार पाहुना बोलाए पनि उनीहरुले कुनै नियम भने तोडेका छैनन् । अर्थात उनीहरुले १० हजार पाहुनालाई आमन्त्रण गरे पनि सामाजिक दूरीको नियम भने पालना गरे र गराए ।

कारको भिड
आइताबार बिहानैदेखि विवाहित दम्पत्ती मलेसियाको राजधानी क्वालालम्पुरको दक्षिण भागमा रहेको पुत्राजायामा अवस्थित भव्य सरकारी भवनको बाहिर उभिएका थिए । उनीहरु उभिएको त्यस ठाउँमा विस्तारै एकपछि अर्को गर्दै कारमा पाहुनाहरु आएर उनीहरुलाई शुभकामना दिन थाले ।

तर, रोचक कुरा विवाहमा सरिक हुन आएका कुनै पनि पाहुना आफ्नो कारबाट बाहिर निस्किएनन् । यद्यपी उनीहरु विवाहित दम्पत्ती भएको ठाँउमा पुगेपछि कारको गति कम गर्छन् र झ्यालको सीसा नै नखोली भित्रैबाट शुभकामना दिँदै अघि बढ्छन् ।

विवाहित जोडिले पनि बाहिरबाटै हात हल्लाउँदै पाहुनाहरुलाई स्वागत गरे र उपस्थितीका लागि धन्यवाद दिए ।

यसरी १० हजार पाहुनाहरु आ–आफ्नो कारमा त्यस भवन बाहिर आउँदै जान थाले । दशौं हजार कारको उपस्थितीले त्यहाँको सडक कारले भरिएको थियो ।

यो विशेष विधि अपनाएर यी जोडिले सामाजिक दूरीको पालना पनि गरे र विवाह समारोहमा पाहुनाको संख्यामा लगाइएको प्रतिबन्ध पनि तोडेनन् ।

यसरी खुवाइयो पाहुनालाई खाना
विवाहमा आमन्त्रण गरेपछि उनीहरुलाई खानाको व्यवस्था नगर्ने कुरै भएन । यो विशेष विवाहमा १० हजार पाहुनालाई खाना पनि खुवाइयो तर सामाजिक दूरीको नियमलाई उल्लंघन नगरी ।

विवाहित जोडीलाई बधाई तथा शुभकामना दिँदै त्यो ठूलो भवन अगाडिबाट जसो कार अगाडि बढ्छ हरेकलाई पहिले नै तयार गरिएका खानाको प्याकेट दिइन्थ्यो । पाहुनाहरुले कारको झ्यालबाटै ती खानाका प्याकेट लिएर कार अघि बढाए । ती १० हजार पाहुनालाई विवाहति जोडीलाई शुभकामना दिँदै अघि बढ्न ३ घण्टा लाग्यो ।

को हुन् भव्य विवाह गर्ने जोडी ?
जसरी विवाहको यो समारोह सामान्य थिएन, त्यसरी नै यो विवाहित जोडी पनि सामान्य पक्कै थिएन । उनीहरु मलेसियाका एक प्रभावशाली राजनीतिज्ञ र पूर्व क्याबिनेट मन्त्री टेंकु अदनानका छोरा टेंकु मोहम्मद हाफिज र बुहारी ओसियाने अलाहिया थिए । उनै राजनीतीज्ञ जसलाई छोराको यही विवाह समारोहको भोलिपल्ट नै भ्रष्टाचारको अभियोगमा पक्राउ गर्यो । उनलाई ४ लाख डलरको भ्रष्टाचारको अभियोगमा दोषी ठहरिएपछि जरिबानसहित १२ महिनाको जेल सजाय सुनाइएको छ ।

मलेसियाले कोरोना महामारीको नयाँ छाल सामना गरिरहेको छ । हालसम्म मलेसियामा ९२ हजार संक्रमित र ४३० जनाको मृत्यु भइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *