सिमरा, ८ पौष–नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले मनोनित गरेका बाराका १० जना केन्द्रीय सदस्यमध्ये ३ जनाले पद अस्वीकार गरेका छन्।

अधिवेशन आयोजक समितिका लागि छनोटमा परेका केन्द्रीय सदस्यमध्ये प्रदेशसभा सदस्य तथा नेकपा बाराका सचिव सुन्दर विश्वकर्मा, प्रदेश नम्बर २ पार्टी कमिटी सदस्य एवं जिफन्ट प्रदेश २ का अध्यक्ष कमलेश झा र कल्याणी चौधरीले विज्ञप्ति निकालेरै ओली समूहको केन्द्रीय कमिटी सदस्यमा नरहने घोषणा गरेका हुन्।

‘उहाँले विगतमा मजदुरको हकहितमा राम्रो काम गर्नुभएको थियो, तर अहिले आएर संसद् विघटनका लागि गर्नुभएको निर्णयले हामीलाई दुःखी बनाएको छ’, जिफन्ट प्रदेश २ का अध्यक्ष झाले भने, ‘दुई तिहाईको सरकारलाई असफल बनाउनुभयो, यस्तो अवस्थामा उहाँले दिनुभएको पद हामीलाई स्विकार्य छैन।’

बारामा २ जना मजदुर नेतासहित १० जनालाई प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य मनोनित गरेका छन्। जसमध्ये विगतमा तत्कालीन नेकपा माओवादी खेमामा रहेकी हाल प्रदेश सभा सदस्य गीता कँडेल अहिले ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएकी छन्।

मनोनयनमा परेका १० मध्ये ७ जना केन्द्रीय सदस्यहरुले हालसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्। बारा जिल्लामा विगतमा बलवीर चौधरी, गोपाल ठाकुर, ज्वाला साह, अच्युत मैनाली र दिनेश राई गरी ५ जना पुराना केन्द्रीय सदस्य थिए भने अहिले अन्य ७ थपिएका छन्।

संसद् विघटनविरुद्ध नेकपा बारा जिल्ला कमिटीले सोमबार नाराजुलुस र मंगलबार विज्ञप्ति निकालेर ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदम भन्दै घटनाको घोर भर्त्सना गरेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *