काठमाडौं, १३ पुस–इटलीयन सिरी क्लब युभेन्टसका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले ग्लोब सकर अवार्डको ‘प्लेयर अफ दि सेन्चुरी’ अर्थात् ‘शताब्दी खेलाडी’ को अवार्ड जितेका छन्।

अर्जेन्टिनी स्टार लियोनेल मेसी, ब्राजिलका स्टार रोनाल्डिन्हो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै रोनाल्डोले यो अवार्ड जितेका हुन्। अवार्डका लागि रोनाल्डोले समर्थकबाट ३८ प्रतिशत मत पाएका थिए। मेस्सीले २४ प्रतिशत, सलाहले २३ प्रतिशत र रोनाल्डिन्होले १४ प्रतिशत मत प्राप्त गरेका थिए।

दुबईमा गएराति भएको समारोहमा यो अवार्ड वितरण गरिएको हो। आयोजकले २००१ देखि २०२० सम्म खेलाडीले गरेको प्रदर्शनलाई आधार मान्दै विजेता छनोट गरेको हो। ३५ वर्षीय रोनाल्डोले यो अवधिमा इंग्ल्यान्ड, स्पेन, इटाली र पोर्चुगलबाट विभिन्न उपाधि जितेका छन्।

रोनाल्डोले पोर्चुगलबाट सन् २०१६ मा युरोकप, २०१८ मा युइएफए नेसन्स लिग जितेका थिए। ५ पटकको बालोन डि ओर विजेता रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनको रियल मड्रिड र इटालीको युभेन्ट्सबाट थुप्रै उपाधि जितेका छन्।

यस्तै इङ्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला कोच अफ दि सेन्चुरी घोषित भएका छन्। उनले स्पेन, जर्मनी र इंग्ल्यान्डमा आफ्नो टोलीलाई च्याम्पियन बनाएका थिए। जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई वर्ष पुरुष खेलाडी र प्रशिक्षक हान्सी फ्लिकलाई वर्ष प्रशिक्षक घोषणा गरिएको छ।

स्पेनिस क्लब रियल म्यड्रिडलाई क्लब अफ दि सेन्चुरी घोषणा गरिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *