झापा, १५ पुस–मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली साकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसँग मनाइँदैछ । तीन दिनअघि शुुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली साकेला अर्थात् किरात पर्व मनाउँछन् ।
यसैबीच, दमक वडा नं १ स्थित माङखिम परिसरमा किरात राई यायोक्खा नगर समितिद्धारा उद्योली पर्व मनाएको छ । नगर नगर समितिका अध्यक्ष बासुदेब राई, दमक नगरपालिका वडा न १ का वडा अध्यक्ष ताराप्रसाद अधिकारी, यायोक्खा नगर उपाध्यक्ष धनजित राई, नगर सचिव खेम बहादुर राई, नगर सदस्य एमएस भालुमा साङपाङ राई लगायत दमक नगरका राईहरुको ठूलो संख्यामा उपस्थित थियो ।
कोरोना संक्रमणको कारण यसवर्षको साकेला उद्योली पर्वलाई सामान्य रुपमा आयोजना गरिएको सचिव खेम बहादुर राईले बताए । सचिव राईका अनुसार नयाँ अन्न माङलाई चढाएर बिधि पुर्वक आ–आफ्नो घरमा नयाँ अन्न भित्र्याउने पंरमपरागत संस्कृती अनुसार आजको उधौली साकेला पर्व सम्पन्न गरिएको हो ।
सो अवसरमा ढोल झ्याम्टा बजाउनुका साथै साकेला नृत्यसहित पुजा गरिएको थियो । सो माङखिममा प्रत्येक बर्ष बैखाखमा उभौली र मंसिरे उधौली पर्व मनाउने गरिदै आएको यायोक्खा दमक नगर उपाध्यक्ष धनजित राईले बताए ।
खासगरी, पुर्व मनाइने सम्बन्धमा विभिन्न बिचारहरु आएको छ । यसबीचमा किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।

किरात समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किराँत जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।
भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।
ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेषरुपमा मनाइन्छ । पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।
लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँत तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङ्लाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ ।
वैशाख पूर्णिमामा उभौली पूजा गरेका किराँतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । यसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रुपमा समेत लिइने राईले बताए। उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला ९भूमे० लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । पितृको मान र प्रकृतिको सम्मानका रुपमा दुवै पर्वलाई किराँतले मनाउँछन् ।

