एजेन्सी, १६ पुस–स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड घरेलु टोली इल्चेसँग १-१ गोलको बराबरीमा रोकिएको छ। बराबरीमा रोकिएसँगै अंकतालिकामा एट्लेटिको मड्रिडसँग बराबरी गर्ने रियलको लक्ष्यमा धक्का पुगेको छ।

इल्चेको घरेलु मैदानमा रियलले नियन्त्रणपूर्ण खेल खेलेपनि पोष्टमा गरेको आक्रमण पटक-पटक बाहिरिएको थियो। तर, २० औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई १-० को अग्रता दिलाएका थिए।

५२ औं मिनेटमा इल्चेले पेनाल्टी गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो। रियलका ड्यानी कार्भाहलले पेनाल्टी बक्समा इल्चेका बारागानलाई तानेर लडाएका थिए। सो पेनाल्टी गोल फिडेल चाभेसले गरेका थिए। त्यसपछिको खेल अवधिमा कुनै पक्षबाट थप गोल भएन।

जारी ला लिगामा रियल मड्रिडले यसअघि रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेको थियो। अहिलेसम्मका खेलमा रियलले १६ खेलबाट ३३ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।

पहिलो स्थानमा रहेको एट्लेटिको मड्रिडले १४ खेल खेल्दै ३५ अंक जोडेको छ। पछिल्लो खेलमा रियलसँग प्रतिष्पर्धा गरेको इल्चेले १५ खेल खेल्दै १६ अंक बटुलेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *