एजेन्सी, १८ साउन–दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन्। महामारी नियन्त्रण गर्न लगाइएको लकडाउन खोलेपछि त्यहाँ कोरोना संक्रमित ह्वात्तै बढेको हो।

संक्रमित संख्या बढेसँगै दक्षिण अफ्रिका जारी कोरोना महामारीबाट बढी प्रभावित मुलुकको सूचीको पाँचौं स्थानमा उक्लिएको हो। अहिले अफ्रिका महादेशमा भेटिएका कुल संक्रमितमध्ये अधिकांश दक्षिण अफ्रिकाकै छन्। दक्षिण अफ्रिकामा अहिलेसम्म पाँच लाख तीन हजार २९० जना संक्रमित भेटिएका छन्‌।

भेटिएकामध्ये आठ हजार १५३ जना संक्रमितको ज्यान गएको छ। त्यहाँ संक्रमण निकै द्रुत गतिमा फैलिरहेको र राजधानी प्रिटोरिया आसपासको क्षेत्र संक्रमणको केन्द्र बनिरहेको बीबीसीमा उल्लेख छ। संक्रमितको संख्या बढेसँगै त्यहाँको स्वास्थ्य व्यवस्थामाथि निकै दवाब परेको छ। स्थानीय अस्पतालहरुमा चिन्ताजनक स्थिति देखिन्छ।

महामारी नियन्त्रण गर्न दक्षिण अफ्रिकाले अप्रिल र मे महिनामा कडाइका साथ लकडाउन गरेको थियो। जुन महिना सुरु भएपछि चरणबद्ध रुपमा अर्थव्यवस्था खोलिएको थियो।

जोन्स होप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्याङ्कअनुसार संक्रमित संख्याका हिसाबले पहिलो नम्बरमा अमेरिका छ भने त्यसपछि ब्राजिल, भारत, रूस र दक्षिण अमेरिका छन्। अमेरिका र ब्राजिलमै धेरै संक्रमितहरुको ज्यान गएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *