काठमाडौं, १८ साउन–नेपालमा कोरोना भाइरस (कोभिड) १९० देखिएको ६ महिनापछि संक्रमितको संख्या २० हजार नाघेको छ। शनिबारसम्म सक्रिय संक्रमित ५ हजार ३ सय ३८ जना छन्। कोरोना भाइरस नेपालमा सबैभन्दा पहिले चीनबाट भित्रिएको थियो। केही महिना विदेशबाट आएकाहरुमा संक्रमण भेटिएको थियो। तर अहिले परिस्थिति त्यस्तो रहेन, ‘ट्राभल हिस्ट्री’ नभएकाहरूमा धमाधम संक्रमण देखिन थालेको छ।

संक्रमण फैलिएको ६ महिना हुँदा कोरोना भाइरस उपचारमा सक्रिय स्वास्थ्यकर्मीसहित सडकमा तैनाथ सुरक्षाकर्मीमा पनि देखिन थालेको छ। प्रत्यक्ष नागरिकको सुरक्षामा खटिने नेपाल प्रहरी, नेपाली सेना र शशस्त्र प्रहरीमा कार्यरत सुरक्षाकर्मीमा समेत एकै पटक दर्जनौँको संख्यामा कोभिड देखिएको हो।

प्रहरीमा कोरोनाको जग्जगी​

सुरक्षा निकायमध्ये हालसम्म नेपाल प्रहरीका सबैभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ। नेपाल प्रहरीले जनाए अनुसार हालसम्म प्रहरीमा २ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ। प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार अहिलेसम्म २ सय ५३ प्रहरीलाई कोरोना देखिएको छ। जसमध्ये प्रहरी प्रधान कार्यालयमै ७२ जना संक्रमित छन्। बाँकी संक्रमित उपत्यका बाहिरका हुन्।

यस्तै संक्रमितमध्ये हालसम्म १ सय ३ जना कोरोनामुक्त भएर काममा फर्किसकेको प्रवक्ता कडायतले बताए। उनले भनेु हालसम्म संक्रमितमध्ये १ सय तीनजना संक्रमित कोरोनामुक्त भएर काममा फर्किसकेका छन्।ु प्रहरीका अनुसार हाल उपत्यकामा संक्रमितहरुको बलम्बुस्थित कोभिडको उपचार गर्न तोकिएको सशस्त्रको अस्पतालमा उपचार भइरहेको छ।

सशस्त्रमा संक्रमण

यता सशस्त्र प्रहरीमा पनि कोरोना संक्रमणले अछुतो रहेको छैन। हालसम्म सशस्त्र प्रहरीमा कार्यरत संक्रमितको संख्या १ सय ३१ पुगेको छ। सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार कोरोना संक्रमितमध्ये ६८ जना निको भएर काममा फर्किसकेका छन्। ६३ जना भने उपचाररत रहेका छन्। उपत्यकामा १ जना रहेपनि झापामा ३३, इलाममा २८ र बारामा १ जना रहेका छन्।

सेनामा संक्रमित ९८ जना

नेपाली सेनामा पनि कोरोनाको प्रभाव परेको छ। सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलले हाल देशभर ९८ जनामा कोरोना देखिएको जानकारी दिए। उनका अनुसार ७६ जना उपचारपछि काममा फर्किसकेका छन्। २२ जना उपचाररत रहेका छन्।

ओखलढुङ्गा र बारामा सेनामा कोरोना संक्रमितको संख्या उच्च देखिएको प्रवक्ता पौडेलले बताए। उपत्यकामा कार्यरत सेनाका तीन जना अधिकारीलाई पनि कोरोना संक्रमण देखिएको छ। उनीहरुको हाल कोभिडको उपचार गर्न तोकिएको बलम्बुस्थित सशस्त्रको अस्पतालको आइसोलेसनमा दुई जनाको उपचार भएको छ।

एक जनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भएको प्रवक्ता पौडेलले बताए। उनले भने, ‘हाल संक्रमितमध्ये उपत्यकामा तीनजनामा छन्।’ नेपाली सेनाले जनाए अनुसार उपत्यकामा संक्रमण देखिएका तीन जना सैनिकको कुनै पनि ‘ट्राभल हिस्ट्री’ समेत छैन।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *