हेटौंडा, १८ साउन–मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरीले २०७१ सालमा चितवन जिल्लाका रोजिन गुरुङको हत्यामा संलग्न भएको भनी दोषी ठहर भई जन्मकैद सजाय पाएर कैदी जीवन बिताइरहेका सुनसरीका कुलदिपराज धामीलाई पक्राउ गरेको हो।
सुनसरी रामधुनीका धामी २०७६ साल कात्तिक ३० गते कारागारबाट फरार भएका थिए। फरार रहेका धामीलाई प्रहरीले खोजी जारी राखेको थियो। सोहि क्रममा कञ्चनपुरबाट चितवनतर्फ आउँदै गरेको भन्ने सूचनाका आधारमा प्रहरीले नवलपरासीबाट धामीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार धामीलाई आजै भीमफेदी कारागार पठाइने छ। कैदजीवन बाँकी नै रहँदा फरार हुँदा पक्राउ परेपछि बाँकी कैदको डेढ गुणा बढी कैद सजाय भोग्नुपर्ने प्रहरी उपरीक्षक राठौरले बताए।
