धनुषा, १८ साउन–धनुषामा ट्राफिक प्रहरीलाई घुस दिन खोजेपछि भारतीय नम्बर प्लेटको स्कारपियो गाडीसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको इश्वरपुर नगरपालिका ९ बयलवासका ३२ वर्षीय रामविश्वास पटेल छन्।
शनिबार दिउँसो उनी बिआर ०६पिई ०६५८ नम्बरको स्कार्पियो अगाडि लिएर सर्लाहीबाटै जनकपुरधाम आउँदै थिए। तर उनीसँग गाडीको भन्सार पास थिएन। जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मिनिया गाउँपालिका ७ स्थित लक्ष्मिनिया बजारमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा भन्सार पास नहुँदा उनलाई गाडीसहित नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुर पठाएको थियो।
जनकपुर पुगेपछि गाडी चालक पटेलले ट्राफिक प्रहरीलाई २ हजार घुस दिन खाज्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। पटेलमाथि कारबाही तथा अनुसन्धान अगाडि बढाएको उनको भनाई छ।
