काठमाडौं, २५ वैशाख–राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका नवनिर्वाचित सभापति जयन्तीदेवी राईलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।
सिहदरबारस्थित संसद् भवनमा आज आयोजित कार्यक्रममा सभापति राईले शपथ लिएकी हुन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उनी राष्ट्रियसभा सदस्य निर्वाचित राईले आजै पदबहाली गरिन् ।
पदबहालीपछि उनले राष्ट्र र जनताका पक्षमा सक्रियतापूर्वक कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताइन् । उनले भनिन्, ‘समितिमा प्रवेश पाएका विधेयकलाई समृद्ध तुल्याएर यथाशक्य छिटो निष्कर्षमा पुर्याइनेछ ।
समितिका सबै सदस्यले एक मन र मतले सक्रियतापूर्वक खटेर प्राप्त जिम्मेवारीलाई पूरा गर्नेमा मेरो पूर्ण विश्वास छ ।’ समितिमा राष्ट्रिय मर्यादाक्रम निर्धारण, नेपाल विश्वविद्यालय, कोभिड-१९ सङ्कट व्यवस्थापनलगायत विधेयक छन् ।
यसअघि, उक्त समितिका सभापतिका रुपमा पर्शुराम मेघी गुरुङ र डा वेदुराम भुसालले काम गरेका थिए । डा भुसाल वर्तमान मन्त्रिपरिषद्मा सहभागी भएसँगै सभापति पद रिक्त थियो ।
उक्त समितिमा राईको चयनसँगै राष्ट्रियसभा मातहतका चारमध्ये दुई समितिमा महिलाको नेतृत्व हुन पुगेको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा सभापति छन् ।
