काठमाडौं, २६ वैशाख–कक्षा १२ को परीक्षा मंगलबार शुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

पहिलो दिन मंगलबार नयाँ पाठ्यक्रमतर्फ अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू भाषा तथा साहित्यको परीक्षा हुनेछ। यस्तै पुरानो पाठ्यक्रमतर्फ अनिवार्य वैकल्पिक संस्कृत रचनाको परीक्षा हुनेछ।

बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे। यो वर्ष देशभर चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डले जानकारी दिएको छ। यसका लागि देशभर एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यो वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्। उनीहरूले जति विषयमा कम नम्बर आएको थियो, त्यही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरेसँगै अब ‘नन ग्रेडेड’ ल्याएका विषयको मात्रै परीक्षा दिए हुने भएको हो।

पहिलेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो। यसले गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ‘ड्रप आउट’ हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको हो।

परीक्षा जेठ ५ गते सकिनेछ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *