कनकाई, २७ बैशाख–झापाको सुरूङ्गास्थित एक होटलमा २४ वर्षीया एक महिला झुन्डिएको अवस्थामा फेला परेकी छन् । सुरूङ्गा बजारमा चालु अवस्थामा रहेको हाम्रो पाथिभरा होटल एण्ड लज सञ्चालनका लागि भाडामा लिएको एक कोठामा २४ वर्षीया सीता बुढाथोकी चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेको होटलका सञ्चालकले बताउनुभयो ।
लज सञ्चालनमा रहेको घरमा कोठा भाडामा लिएर विगत नौ महिनादेखि बस्दै आएकी बुढाथोकी सुरुङ्गाको झापा रोडस्थित एक होटलमा काम गर्दै आएको बताइएको छ ।
मृतका श्रीमान रमेश चौधरी भने सोही घरमा नै रहेको होटलमै काम गर्दै आएको होटलका सञ्चालकको भनाइ छ। गए राति १० बजेदेखि आँफूहरु सुत्ने कोठामा नभएको बताउने श्रीमान रमेश चौधरीले बिहान उज्यालो भएपछि होटलले प्रयोग गर्दै आएको खाली रहेको अर्को एक कोठामा झुन्डिएको अवस्थामा फेला पारेको बताउनुभएको छ ।
आज बिहान इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोली घटनास्थलमा आइपुगेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख मानबहादुर मिश्रले जानकारी दिनुभयो । बिर्तामोडको प्रहरी टोली घटनास्थलमा आएपछि आवश्यक प्रक्रिया अघि बढ्ने मिश्रको भनाइ छ ।
