दमक, २ जेठ–झापाको कमल–१ मा निर्माणाधिन एउटा योजनामा मापदण्ड अनुसार गुणस्तरी निर्माण कार्य नभएको पाइएपछि गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले डोजर लगाएर भत्काउने आदेश दिएका छन् ।

सो वडाको पुष्पथिर प्रतिष्ठानदेखि झोलुङगे हुँदै बासुचोक जोड्ने सडकको दायाँ बायाँ लगाइएको प्लम वालमा ढुंगा, बालुवा, सिमेन्टको मिश्रण ठिक मात्रामा नगरी गुणस्तरहीन संरचना बनिरहेको खबर पाएका अध्यक्ष राईले सोमबार अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडाध्यक्ष केदार कटुवाल, अनुगमन समिति सदस्य समेत रहेका कमल २ का वडाध्यक्ष अशोक सुब्बासहित निर्माणस्थलमै पुगेर त्यस्तो आदेश गरेका हुन् ।

अध्यक्ष राईको निर्देशनपछि योजनास्थलमा वडाध्यक्ष कटुवालले डोजर बोलाएर पर्खाल भत्काएका हुन् । सो सडकको दाँया बाँया पक्की पर्खाल निर्माणका लागि गाउँपालिकाले संघीय सरकारको तराई मधेस समृद्धि कार्यक्रमम अन्तर्गत चालू आर्थिक बर्षमा प्राप्त ७२ लाख रुपैयाँ बजेटका आधारमा ठेक्का लगाएको थियो ।

ठेक्का पाएको निर्माण कम्पनी विशाल एण्ड विवेक निर्माण सेवाले सो काम तोकिएको मापदण्ड र सम्झौता अनुसार नगरेपछि बारम्बार अनुगमन समितिले काम रोक्न भनेपनि अटेर गरेर काम अघि बढाईरहेको थियो ।

अध्यक्ष राई पालिकाका जनप्रतिनिधि र कर्मचारीसहित योजनास्थलमा पुगेर हेर्दा सो वाल हातकै बलले समेत भत्किने किसिमको कमसल रहेको पाइएकाले तत्काल एक्सनमा उत्रिएका हुन् । सो योजना यहि जेठ ३० गते सम्ममा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको गाउँपालिकाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *