बिर्तामोड, २ जेठ–बिर्तामोड नगरपालिकाको नगर गौरवको आयोजनाका रुपमा रहेको वुट्टावारी प्याकुरेल चौक सडक खण्डको स्तरोन्नतिका लागि शिलान्यास भएको छ ।
वुट्टावारीमा आज आयोजित एक समारोहकाबीच ६ दशमलब २ किलोमिटर लम्वाई रहेको सडकको शिलान्यास भएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले सडक शिल्यास गर्दै सो सडक नगर गौरवको आयोजनाका रुपमा रहेको बताउनुभयो ।
विश्व बैंकको ५१ करोड २९ लाख ६१ हजार ३७२ रुपैयाँको लागतमा निर्माण हुने सो सडक दुई वर्ष भित्र सम्पन्न गर्ने सम्झौंता भएको छ । १२ मिटर चौडाई रहेको यो सडकलाई ७ मिटरमा कालोपत्रे गरिने बताइएको छ । सडकको दाँया वाँया डेन निर्माण गरिने छ भने सडकको दुवै तर्फ सडक वत्ती, गार्डेन, फुटपाथ रहने छ ।
सडक निर्माणका लागि आरपी स्याप समता जेभीले ठेक्का पाएका छन् भने परामर्श दाताका रुपमा डीभी मल्टीशिल्ट उदयगंगा रिदाग आरसी जेभी रहेका छन् । सडकले बिर्तामोड ६, ७ र ८ नम्वर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जान सहज हुने छ । सडकको विषयमा नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले प्रकाश पार्नु भएको थियो ।
बिर्तामोड– ६ का वडाध्यक्ष सूर्य कन्दंवाको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका निर्वतमान मेयर ध्रुवकुमार शिवाकाटी, नेकपा एमालेका बिर्तामोड नगर कमिटि अध्यक्ष सुवास भट्टराई, राप्रपाका जिल्ला उपाध्यक्ष ध्रुव उप्रेती, नेकपा माओवादीका जेवी जवेगू लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले गर्नु भएको थियो ।
