काठमाडौं, ४ जेठ–नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनमा नेता रिजालले समेत मिलेमतो गरेको आशंका लागेपछि प्रहरीले उनलाई बिहीबार सोधपुछका लागि बोलाएको थियो।
सोही अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा गएका नेता रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।
बिहीबार दिउँसो शरणार्थी प्रकरणमा संलग्न नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेलगत्तै नेता रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार पक्राउ परेका हज समितिका अध्यक्ष मियाँ र नेता रिजाल दुवै जनालाई २ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
यसअघि भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मोरङका सागर राईले नेता रिजाललाई समेत मुछेका थिए। उनले बयानका क्रममा रिजाललाई ७ लाख रूपैयाँ दिएको दाबी गरेका थिए।
बिहीबार पक्राउ परेका मियाँ र रिजाल दुवै जनालाई थप २ दिन हिरासतमा राख्न अदालतबाट अनुमति पाएको एसपी रिजालले बताए।
