काठमाण्डौं, १५ असोज–वैदेशिक रोजगारीका लागि नक्कली कागजपत्र बनाई जापान पठाउने १४ वटा संस्थालाई वैदेशिक रोजगार विभागले निलम्बन गरेको छ। विभागको सोमबार बसेको बैठकले उजुरीको आधारमा ती संस्थालाई निलम्बन गरेको हो। विभागले निलम्बन गरी ती संस्थालाई अनुसन्धान गर्ने भएको छ।

ती संस्थाले जापानिज भाषा र संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएको विभागमा उजुरी परेको थियो।

त्यस्तै, श्रम स्वीकृति लिएका नेपाली कामदारलाई जापानसमेत पठाइसकिएको विभागले जनाएको छ। विभागमा परेको उजुरीको आधारमा छानबिन गरिएको थियो । विभागको प्रारम्भिक अनुसन्धानले सो कार्यमा संलग्न देखिएका म्यानपावर कम्पनीलाई निलम्बन गरी अनुसन्धान गरिने विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताएका छन्।

निलम्बनमा पर्ने संस्थाहरूमध्ये गुडविल लाइफ इन्टरनेसनल इम्प्लोइमेन्ट एजेन्सी, सत्यवती ओभरसिज, डिएन इन्टरनेसनल नेपाल ओभरसिज, रोयल ओभरसिज, जब्स ग्लोबल डटकम इम्प्पोइमेन्ट, लायन्स इन्टरनेसनल नेपाल, भण्डारी ओभरसिज, वर्ल्ड फेवर ओभरसिज, एनएपी इन्टरनेसनल, मन्जुश्री ओभरसिज, एएनएफ एसोसियट, क्यापिटल इन्टरनेसनल म्यानपावर, ग्यान्ड स्विट जब र अक्सन इन्टरनेसनललाई निलम्बन गरेको छ।

नक्कली कागजपत्र बनाएर नेपाली कामदार ठगिएको यो पहिलो घटना भने होइन। यसअघि पनि विभागको नक्कली लेटरप्याड बनाई कोरियामा रोजगारीका लागि आवेदन खुलाइएको सूचनासमेत जारी भएको थियो । तर, विभागले यस खालका गलत सूचनाको भ्रममा नपर्न र कुनै पनि कुराको भेरिफाई गर्न सबैमा आग्रह गरेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *