सप्तरी, १६ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको औद्योगीकरणका लागि थप लगानी आवश्यक रहेकाले राष्ट्रिय पुँजी सञ्चय गर्नुपर्ने बताएका छन्।

समाजवादी प्रेस सङ्गठन सप्तरीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपालमा कृषि, पर्यटन र ऊर्जाको क्षेत्रमा सम्भावना रहेको भन्दै उनले यी क्षेत्रमा थप लगानी गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताए।

उनले जनतालाई सुखी जीवनको प्रत्याभूति गर्न उद्यमशीलताको सीप विकास गर्ने कौशलता पार्टीमा हुने दाबी गरे। उनले रोजगारी, सुशासन र समृद्धिको नारासहित आफ्नो पार्टीले समाजवादी जागरण अभियान मेचीबाट महाकालीसम्म यात्रा सञ्चालन गरिरहेको जानकारी दिए।

अध्यक्ष नेपालले पार्टीका मान्यतालाई स्थापित गर्न अभियानले सहयोग गर्ने र जनअधिकार स्थापित गर्न सरकारलाई दबाब दिन बताए। उनले मिटर ब्याजको समस्याले गरिब जनता घरबारविहीन हुने अवस्थाको समाधान गर्न सरकार संवेदनशील हुनुपर्ने धारणा राखे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *