जनकपुरधाम, १७ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले कांग्रेसविनाको सरकारको कल्पना पनि गर्न नसकिने बताएका छन्।
समाजवादी प्रेस संगठन मधेश प्रदेशले बुधबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस सरकारबाट बाहिरिए एमालेमा खुशीयाली छाउने भएकाले त्यस्तो परिस्थिति आउन नदिने बताए।
उनले पुष्पकमल दाहालनेतृत्वको सरकारमा केही कमजोरी भएर सुधार गर्नुपर्ने भन्दै तत्काल नेतृत्व फेरबदलमा लाग्न नहुने धारणा राखे। ‘प्रचण्डनेतृत्वको सरकारमा केही कमजोरी भए पनि सुधार गर्न अभिप्रेरित गर्दै सरकार बचाइ राख्नुपर्छ’, उनले भने।
उनले देशमा एक परिवारको शासन र बर्चश्वका लागि धार्मिक अतिवादका क्रियाकलाप शुरु भएको भन्दै परिवर्तनको रक्षाका लागि सधैँ तत्पर रहने बताए। पछिल्लो धार्मिक विवाद नियोजित रहेको भन्दै सचेत हुन सबैलाई आग्रह गरे।
मेची–महाकाली समाजवादी जागरण अभियानको क्रममा बुधबार नै जनकपुरधाम आइपुगेका अध्यक्ष नेपालले संविधानमा उल्लेख भएको समाजवादका मुख्य आधार शिक्षा, स्वास्थ्य र रोजगारीका लागि प्रयत्न गरिरहेको बताए।
