झिलझिले, २५ असोज–झापामा डेढ महिनाभित्र १० मेगावाट सौर्य ऊर्जा उत्पादन हुने भएको छ । झापा इनर्जी लिमिटेडद्वारा शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा निर्माणाधीन अवस्थामा रहेको झापा इनर्जीको निर्माण कार्य डेढ महिनाभित्र सकिने र बिजुली उत्पादन हुने भएको हो ।
७९ करोड ८० लाख रुपैयाँको लगानीमा ४ बर्ष अघि शुरु भएको परियोजना दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य भएपनि कोभिड महामारी र आर्थिक मन्दीका कारण केही ढिला भएको कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराईले जानकारी दिए ।
परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने समय डेढ महिना ढिलो भएको उनले बताए । करिब ७०० शेयर सदस्यको सामूहिक २२ करोड र बैंकको ५७ करोड परियोजनामा लगानी रहेको प्रबन्ध निर्देशक भट्टराईले बताए । परियोजनामा लगानीकर्ताहरुलाई कुनैपनि घाटा नहुने प्रबन्ध निर्देशक भट्टराईले दावी गरेका छन् ।
परियोजनामा अहिले सोलार प्यानल आइरहेको र एक हप्ता भित्रमा प्यानल अनलोडिङको कार्य सम्पन्न गरेर एक महिनाभित्रमा प्यानल जडान गरि सकिने परियोजनाका को–अडिनेटर तथा इन्जिनियर अभिषेक पराजुलीले बताए । उनका अनुसार २२ हजार ६०० सोलार प्यानल आउने तयारीमा रहेको छ ।
