काठमाडौं, २६ कार्तिक–तिहारको दोस्रो दिन आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको छ। त्यसपछि औँसी तिथि लाग्छ। ‘लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले आइतबार नै लक्ष्मीपूजा परेको हो’, श्रीकृष्ण अधिकारीले भने, ‘बिहान चतुर्दशी तिथि रहेकाले कुकुरको पूजा गर्नुपर्छ।’

उनका अनुसार सोमबार साँझ औँसी पूरा भई सक्छ। सोमबार औँसी तिथि २० घडी २४ पला अर्थात् दिउँसो २ बजेर ४१ मिनेटसम्म रहेको समितिबाट सिफारिसप्राप्त पात्रोमा उल्लेख छ

कुकुरपूजा

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खुवाइँदैछ। सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ। कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका श्याम र सबल नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ।

मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान छ।

मालिकप्रति बफादार रहने, कुनै खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउनेजस्ता अनेक गुण कुकुरमा छन्। सुँघ्नसक्ने उच्च क्षमताका कारण अचेल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ।

अपराधी पहिचान गर्नदेखि मानिसले गर्न नसक्ने जोखिमयुक्त कामका लागि कुकुर प्रयोग हुँदै आएको छ। यिनै गुणका कारण कुकुरको पूजा गरिएको धर्मशास्त्री भट्टराई बताउँछन्।

चतुर्दशीको बिहान झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसेर अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधान पुराणमा पाइन्छ। यो दिनलाई नरक चतुर्दशी वा‘नर्के चतुर्दशी’ भनिन्छ।

लक्ष्मीपूजा

औँसीको साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ। यो दिनलाई तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ।

औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा यो दिन उनको पूजा–आराधना गर्ने विधान रहेको बताइन्छ। संस्कृत भाषाका विद्वान् स्व। शिवराज आचार्य कौण्डिन्न्यायनको ‘वैदिक धर्म मूल रूपमा’ पुस्तकमा उल्लेख भएअनुसार यस दिनको उत्सवलाई ‘कौमुदी–महोत्सव’ वा ‘कौमोदिनी–महोत्सव’ पनि भनिन्छ।

सफासुघ्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुघ्घर पारी, लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ।

साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ। दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीलाई प्रसन्न पार्न श्रीसुक्त पाठ गरिन्छ।

यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धन–धान्य हुने, समृद्धि प्राप्त हुने पुराणहरूमा उल्लेख भएको इतिहास पुराणकी ज्ञाता प्रियंवदा काफ्ले बताउँछिन्।

सत्य, दान, व्रत, तप, धर्म, पराक्रम र सरलता भएका व्यक्तिको घरमा लक्ष्मीले निवास गर्ने आलस्य, निद्रा, असन्तोष, अधर्म आदि दुर्गुण भएका स्थान छाड्ने विष्णुपुराणमा बताइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *