दमक, १९ मंसिर–आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डली (चर्च) दमक–१ मा नवनिर्मित भवनको आज भब्य समारोहबीच समुद्घाटन गरिएको छ । मंगलबार सो मण्डली (चर्च) मा आयोजना गरिएको भब्य समारोहबीच उद्घाटनमा रेभ मत्तीयास सुब्बाले रिवन काट्नुभयो भने रेभ डाक्टर महेन्द्र भट्टराईले भवनमा राखिएको शिलालेखलाई अनावरण गर्नुभएको थियो ।
त्यस्तैं, भवन उद्घाटनकाबीच रेभ कुबेर गुरुङले भवनको चावी खोल्नुभएको थियो भने नवनिर्मित उक्त भवनलाई परमेश्वरमा समर्पण पिएफसी काउन्सिलका मोडरेटर रेभ.एन्डी. शेर्पा ज्युले प्रार्थना गर्नुभएको थियो ।
यसअघि, आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डली दमक–७ सयपत्री चौकस्थित एल्डर पावल राईको निवासबाट सञ्चालन हुँदैं आइरहेको थियो । दमक–१ मा १ कठ्ठा १० धुर क्षेत्रफल भएको जमिनमा निर्मित आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डलीको भवन निर्माणकार्य गत जेठ २६ गतेदेखि सुरु भएको थियो ।
पिएफसीसीका मोडरेटर रेभ.रेन एनडी शेर्पाको अध्यक्षतामा मण्डली (चर्च) को भवन उद्घाटन समारोह भएको थियो । समारोहमा आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डली (चर्च) का अध्यक्ष पाष्टर आकाश थुलुङ राईले स्वागत मन्तव्यसहित भवन निर्माणका बारेमा बोल्नुभएको थियो ।
त्यस्तैं, सोही समारोहमा भवन निर्माणमा भएका आय–आम्दानीसहित खर्चको विवरणहरु भवन निर्माण समितिका संयोजक तथा एल्डर शहरमान राईले प्रस्तुत गर्नुभएको थियो भने मण्डलीका सचिव एल्डर सुरज निङलेकु लिम्बूले सहभागिहरुलाई एममुष्ठ धन्यवाद बचन राख्नुभएको थियो ।
समारोहकैबीच आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डली (चर्च) लाई अभिभावकत्व प्रदान गर्नुहुने मध्यस्थकर्ता, भारत कालिङपोङ पिएफसी काउन्सिलका पाष्टर रेभ.रेन मिकाहाङ सुब्बालाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरिएको थियो ।
त्यस्तैं, ८ वर्षसम्म निःशुल्क आफ्नो घरलाई आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डली (चर्च) को निम्ति उपलब्ध गराउनुहुने दमक–७ सयपत्री टोलका एल्डर पावल राईसहित वहाँका श्रीमती मिना राईलाई समारोहमा दोसल्ला ओढाएर कदरपत्र प्रदान गरिएको थियो ।
उद्घाटन समारोहमा रेभ महेन्द्र भट्टराई, रेभ कुवेर गुरुङ, दमक नगर इसाई समाजका सचिव पाष्टर अजय पाठकले शुभकामना वचन राख्नुभएको थियो । सो अवसरमा दमकस्थित ज्योति मण्डलीका अध्यक्ष पाष्टर मुक्ति किराती थुलुङ, दमक नगर इसाई समाजका पूर्व अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, पाष्टर दावा शेर्पा, पाष्टर डिके बेधा लिम्बू, एल्डर दिपेन्द्र नेम्बाङ, सुरज लिम्बू लगायत झापासहित छिमेकी मुलुक भारत सिक्किम, कालिम्पोङ्ग, दार्जिलिङ लगायत नेपालका विभिन्न जिल्ला र क्षेत्रबाट करिब ३५० जना बढीको सहभागीता थियो ।
नवनिर्मित मण्डलीको चावी स्थानीय एल्डर शरण रणपहेलीलाई काउन्सिलका मोडरेटरज्युले हस्तान्तरण गर्नुभएको थियो । समारोहमा प्रार्थना, बाइबल पाठ, आरधाना, भजन र नृत्य प्रस्तुत गरिनुका साथै सामुहिक प्रेम भोज गरी शुभकामना आदानप्रदान गरिएको थियो ।
