काठमाडौँ, २२ मंसिर–अहिले नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले अहिले कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्स लागेको छ ।
आज शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले जनाएका छन् ।
