नेपाली कांग्रेसका महामन्त्री गगन थापा

काठमाडौँ, २४ मंसिर—नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेस पार्टी हुनुभन्दा पहिले समाजलाई परिवर्तन र विकासतर्फ मार्गनिर्देश गर्ने आइडिया भएको दाबी गरेका छन् । उनले संस्थापकहरूले राणा शासनबाट देशलाई बचाउन नयाँ कामको थालनी गर्नेक्रममा कांग्रेस जन्मिएको बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सूचना, सञ्चार तथा प्रचार विभागले २६ वर्षपछि पुनः प्रकाशन प्रारम्भ गरेको पार्टीको मुखपत्र ‘नेपाल पुकार’ म्यागेजिनको लोकार्पण गर्दै महामन्त्री थापाले कांग्रेस पार्टीभन्दा पहिले नेपाल पुकार जन्मिएको र त्यसले कांग्रेस आइडियामा काम गरेको स्मरण गराए ।

‘कांग्रेस पार्टी बन्नुभन्दा पहिले नै नेपाल पुकार जन्मिएको थियो । त्यसमा समाजलाई कसरी विकास र उन्नतिको पथमा अगाडि बढाउने भनेर छलफल हुन्थ्यो,’ उनले भने, ‘त्यही आइडियामा छलफल गर्दा गर्दै कांग्रेस जन्मियो । हामी अहिले पनि कांग्रेसबाट चुनाव जित्छौँ, सरकारमा जान्छौँ र कांग्रेसको आइडियामा काम गर्छौं ।’

उनले कांग्रेसको सरकार हुँदामा कुशासन हुनु अत्यन्तै दुःखको कुरा भएको बताए । ‘अहिले यसो कोही नागरिकलाई भेटेर हेर्ने हो भने उसको सबैभन्दा ठूलो गुनासो र आक्रोश देशमा व्याप्त कुशासनसँग छ,’ महामन्त्री थापाले अघि भने, ‘कुशासनबाट नागरिकहरू आजित भएका छन् । एउटा काण्ड सेलाउन पाएको छैन, अर्को काण्ड आइहाल्छ । हाम्रो शासन त छ, तर कुशासन कहाँबाट सञ्चालन भइरहेको छ रु हामीले त्यसलाई निराकरण गर्न जरूरी छ ।’

महामन्त्री थापाले पार्टीले नागरिकको चाहनाबमोजिमको काम गर्न नसकिरहेको भन्दै पार्टीभित्र त्यसबारे छलफल गरेर निकास निकाल्नुपर्ने बताए । ‘वडादेखि केन्द्रसम्म अहिले नेपाली कांग्रेसको सरकार छ । तर फेरि पनि कुशासन छ भने त्यहाँ कही न कहीं समस्या छ, हामीले बेलैमा यसको समाधान खोज्नुपर्छ,’ उनले भने ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *