राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी

बागलुङ, २४ मंसिर—राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेताहरुले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् । उनले नेतृत्व सम्हाल्नेहरु नै चोर भएपछि जनताले आसासमेत मारेको आरोप लगाए ।

बागलुङमा आइतबार आयोजित अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा केसीले नेतामा नैतिकता हराएको बताए । उनले विदेशीको इसारामा काम गर्ने नेताका कारण देश कंगाल बन्दै गएको दाबी गरे ।

नेपालको शिक्षा प्रणालीको कमजोरी, राजनीतिक नेतृत्वमा नैतिकताको खडेरी र नेपालको आर्थिक असमानताले लैंगिक हिंसा बढाएको समेत केसीको टिप्पणी थियो । लैंगिक हिंसा र मानव अधिकार हनन लगायतका विषयमा नेताहरुले राजनीति गर्ने गरेको उनको आरोप थियो । ‘आफ्नो कार्यकर्ता भए अपराधी पनि छुट्छ,’ केसीले भने, ‘सुन चोर्ने देखि मानव तस्कर गर्ने पनि नेताकै कारण छुटिरहेका छन् ।’

नक्कली भुटानी शरणार्थीदेखि सुन तस्करलाई जोगाउन दलका नेताहरु लागेको उनले बताए । ‘ओमनमा घरेलु कामदार भनेर गएका चेलीलाई यौन हिंसा गरिएको छ तर पठाउने दलाललाई कारबाही हुँदैन,’ केसीले भने, ‘मानव अधिकार खोज्न कता जाने रु’ ती बाहेक विदेशमा भएका यस्ता धेरै घटनाले नेपाली नागरिकले मानव अधिकार नपाएको बताए ।

नेपालमा केही पनि छैन भन्ने भाष्य सिर्जना गरेर कंगाल बनाउने काम भएकोमा उनले चिन्ता व्यक्त गरे । राजनीतिक दलले नागरिकको अधिकारमा लाग्नुपर्ने भन्दै नेपालका मिडिया र आम नागरिकले सकारात्मक काम गर्नुपर्ने उनले बताए । त्यसका लागि नेपालको शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने उनको धारणा छ । ‘नेपालको शिक्षाले यहीं काम गर्ने वातावरण बनाउनु पर्छ,’ केसीले भने, ‘हिंसा सहेर बस्न सिकाउनु भएन ।’

कैयौं नेपाली महिलाले हिंसा सहेर बसेको उनले बताए । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई वर्षभरि संचालन गर्नुपर्ने समेत उनले बताए । अभियानअन्तर्गत जिल्ला प्रशासन, सामाजिक विकास कार्यालय र बागलुङ नगरपालिकाले मानव अधिकार दिवस र हिंसा विरुद्धको अभियान सँगै संचालन गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख अमर थापा र बागलुङ नगर प्रमुख बसन्तकुमार श्रेष्ठले हिंसा नसहने र नगर्ने प्रतिबद्धता जनाए । सहायक प्रजिअ चित्रांगत बरालले मानव अधिकार र संक्रमणकालसम्बन्धी कार्यपत्र प्रस्तुतीकरण गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *