दमक, २६ मंसिर–दमक नगरपालिकाले लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुरु गरेको छ । प्रहरीमार्फत लागू औषध प्रयोगकर्ताहरुको पहिचान र नियन्त्रण गरी विपन्न परिवारकालाई उपचार गराउने र पाँच वर्षमा लागूऔषध मुक्त तथा स्वस्थ्य युवामैत्री नगर बनाउने अभियान स्वरुप अभियान शुरु गरिएको हो ।अभियानको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले औपचारिक कार्यक्रमका बीच शुभारम्भ गरे ।
लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान दमकबाट सुरु भएको र यो प्रदेशभर आवश्यक भएको मुख्यमन्त्रीको भनाइ थियो ।संस्कारयुक्त समाज निर्माण गर्ने कुरामा हामी सधैँ तत्पर रहनुपर्छ र कोशी प्रदेश सरकार यसमा तत्पर छ’’, उनको भनाई थियो ।
उनले लागूऔषध प्रयोगकर्ताहरुलाई समाजमा पुर्नस्थापित गर्न र यसका लतमा लाग्न नदिनका लागि सबैको सहयोग आवश्यक रहेकोमा पनि उल्लेख गरे । उनले भने-“आमाबुवाले छोराछोरीले घर बाहिर के गर्दैछ भन्ने हेक्का राख्ने बेला आइसकेको छ । बालबालिकालाई राम्रो संस्कार दिन सकेनौं भने जस्तोसुकै राम्रो अंकको शैक्षिक प्रमाणपत्रको पनि काम हुँदैन ।”
मुख्यमन्त्री कार्कीले मन्दिरमा, रेडक्रसमा र अन्य सामुदायिक ठाउँहरुमा अहिले बुढापाका मात्रै बस्ने गरेको दृष्टान्त पेश गर्दै शेषपछिको सम्पति छोराछोरीलाई दिने तर संस्कार नदिने समाजको विकास हुनु चिन्ताको विषय भएको बताए । “त्यसैले बालबालिकालाई सामाजिक शिक्षा दिनु आवश्यक छ । शिक्षाको परिभाषा कितावी ज्ञानले मात्रै हुँदैन । त्यसैले सभ्य नागरिक बनाउनु प्रत्येक आमाबुवाको नैतिक दायित्व हो,” मुख्यमन्त्री कार्कीले भने ।मानवीय विकासमा सरकारले ध्यान दिने र सोहीअनुरुप कार्ययोजना बनाएर अघि बढ्ने कार्कीले बताए ।
दमक नगरपालिकाका मेयर रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाईंले नगरपालिकाले शुरु गरेको यो महाअभियानमा कोशी प्रदेश सरकारबाट १० लाख विनियोजन भएको जानकारी दिइन । उनले भनिन,“नगरपालिकाको ५ लाख लागत छ । अहिले तथ्यांकले पनि लागूऔषध प्रयोगकर्ता बढ्दै गएको देखिएको छ ।” नगरस्तरी र वडास्तरीय कार्यक्रम सञ्चालक समिति गठन गरेर कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिइन् । दमकमा सुधार गृह निर्माण गर्ने लक्ष्य लिएर कार्यक्रम शुभारम्भ भएको बताइएको छ ।
एकजना लागूऔषधका पूर्व प्रयोगकर्ता पशुपति फागोले नशा कै लागि बाँच्ने र बाँच्न कै लागि नशा गर्ने अवस्था भएपछि आफ्नो अंशको सम्पति पनि परिवारबाट लिएर सकेको सुनाए । “अन्त्यमा शून्यमा पुगेपछि नगरपालिकाको सहायतामा आफ्नो जिन्दगी सुधारका लागि सुधार केन्द्रमा गएर सुधार भएर आएँ,” उनले भने-“अहिले टोलटोलमा समिति बनाएर लागूऔषध विरूद्धको अभियानमा लागेको छु ।”
कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले कार्यक्रमहरू तामझामका साथ खर्च गर्ने तर बजेटको सदुपयोग नहुने र लक्षितवर्गले लाभ प्राप्त गर्न नसके त्यसको औचित्य नहुने उल्लेख गरे ।
