शेखर कोइराला

मोरङ, २८ मंसिर–सत्ता साभेदार नेपाली कांग्रेसका नेता डा=शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोप समेत लगाए ।

सरकारले जनतामा आशा जगाउन नसकेको बताउँदै उनले कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने दाबी गरे । ‘सरकारसँग जनता निराश भएका छन । जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ,’ उनले भने, ‘जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।’

नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको बताए। कांग्रेसले मात्रै मुलुकको समस्या समाधान गर्न नेता कोइरालाको तर्क थियो । आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भने, ‘लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसित दलको नेता फेर्ने संख्या छैन ।’

नेता कोइरालाले कोशी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिए । उनले पहिचानवादीहरूसँग वार्ता गरेर विवाद मिलाउनु पर्ने बताए । ‘कोशी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ,’ उनले भने ।

नेता कोइरालाले राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना एनसेल प्रकरणमा हुनै नसक्ने ठोकुवा गरे । ‘एनसेलमा एक–दुई अर्ब होइन अर्बौं अर्ब घोटाला भएको छ,’ कोइरालाले भने, ‘यति ठूलो घोटालामा राजनैतिक नेतृत्व, व्यापारी र कर्मचारीको मिलेमतोबिना हुनै सक्दैन। कस–कसको संलग्नता छ भनेर विस्तारै अनुसन्धानमा खुल्दै जाला ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *