काठमाडौं, २९ मंसिर–नेकपा (एमाले) ले बैतडीको झुलाघाटबाट सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा आज (शुक्रबार) अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थान पुग्दैछ।

तेह्रथुमको वसन्तपुरबाट आज बिहान सुरु हुने यात्रा साँझ आठराई गाउँपालिकाको पर्यटकीयस्थल संक्रान्ती बजारमा पुगेर बास बस्नेछ। यात्रामा रहेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार वसन्तपुरबाट सुरु हुने यात्रा तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुगेर खाना खाने कार्यक्रम छ। उक्त स्थानमा स्थानीय बासिन्दा ,राजनीतिक दलका नेताहरु,जनप्रतितिनिधीसँग भेटघाट तथा संक्षिप्त अन्तरक्रिया गर्ने कार्यक्रम छ।

त्यहाँबाट अघि बढेको टोली तेह्रथुमकै औंशी डाँडामा स्थानीय बासिन्दासँग सो क्षेत्रका समस्या र विकासका सम्भवना बारे छलफल गर्ने तयारी छ। साँझ संक्रान्ती बजारमा पुगेर बास बस्ने प्रमुख गौतमले जानकारी दिए।

आजको यात्रा दिनभर तेह्रथुम जिल्ला भित्रै हुनेछ। यात्रा टोलीले आज ९४ किलोमिटर दुरी पार गर्नेछ। बैतडीको झुलाघाटबाट सुरु गरेको एमालेको टोलीले हालसम्म १ हजार ८ सय १ किलोमिटरको दूरी पार गरिसकेको छ।

मध्यपहाडका समस्याको पहिचान र तिनको समाधानका उपाय पहिल्याउन एमालेले मध्पहाडी राजमार्ग अन्तरगतका २६ जिल्लाको यात्रा तय गरेको हो।

यात्रामा एमालेको केन्द्रीय सचिवालयका सबै पदाधिकारी सहभागी छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *