दमक, ३० मंसिर–किरात राई विद्यार्थी संघ झापाका अध्यक्ष तथा पहिचानवादी युवा नेता मिलन रुम्दाली राई आज (शनिबार) झापाको केर्खाबाट पक्राउ परेका छन् । झापाका आदिवासी जनजाति विद्यार्थी नेता राईसहित सुनसरीबाट आज ६ जनालाई प्रहरीले पक्राउ गरेको किरात राई लेखक संघ झापाका अध्यक्ष जीतेन साङपाङ राईले बताए ।
पहिचान पक्षधरले गरेको बन्दको आह्वानले पहाडी जिल्लामा यातायात अवरुद्ध भएको छ । तराईका जिल्लामा भने आंशिक प्रभाव परेको छ । यसअघि,पक्राउ परेको नेता कार्यकर्तालाई छाड्न माग गर्दै पहिचान पक्षधरले बन्द आह्वान गरेका थिए ।
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्री शंकल्प २६ मंसिरमा प्रवेश गरेको थियो । सो यात्रा विथोल्न खोज्ने पूर्वमन्त्री गोपाल किरातीसहित ३१ जनालाई पक्राउ गरी प्रहरीले थुनामा राखेको छ ।
पक्राउ परेका नेता कार्यकर्तालाई छाड्न माग गर्दै प्रदेश १ पुनः नामाकंन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार कोशी प्रदेश बन्दको आह्वान गरेको थियो । बन्दको प्रभाव आंशिक मात्रै रहेको प्रहरी उपरीक्षक कंडेलले बताए ।
पूर्व-पश्चीम राजमार्गमा यातायात सञ्चालनमा छन् । तर सार्वजनिक सवारी साधन सामान्य अवस्थामा भन्दा थोरै मात्रै कुदेका छन् । मेची राजमार्ग र कोशी राजमार्गको पहाडी जिल्लामा भने यातायातका साधन सामान्य मात्रै चलेका छन् ।
२६ मंसिरमा कोशी प्रदेश प्रवेश गरेको नेकपा एमालेको संकल्प यात्राको टोलीलाई रोक्न खोज्ने ४१ जना पहिचान पक्षधर कार्यकर्ता पक्राउ परेका थिए । तीमध्ये ९ जनालाई छाडेको प्रहरीले ३२ जनालाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी राखेको छ ।
पक्राउ परेका नेता कार्यकर्तालाई छाड्नु पर्ने आन्दोलनकारीको माग छ । १७ दिनअघि सुरु भएको नेकपा एमालेको संकल्प यात्राको टोली आज तेह्रथुमबाट पाँचथर पुग्दैछ ।

