दुधे, ५ पौष–झापाको शिवसताक्षीस्थित दूधेमा चासोक तङनाम पर्व भब्यताका साथ मनाइने भएको छ । किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षी नगरको आयोजनामा पौष ९ र १० दूधे रंगशालामा चासोक तङ्नाम पर्व मनाइने आज (विहिबार) पत्रकार सम्मलेन गरी जानकारी गराइएको हो ।
आयोजक संस्थाले दूधेमा गरिने चासोक तङ्नाम पर्व नेपालकै ठूलो हुने दावी गरेको छ । कार्यक्रम सम्पन्न गर्न ८ लाख खर्चकोे अनुमान गरिएको किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षीका अध्यक्ष वीरवल जवेगुले जानकारी दिए । उनले शिवसताक्षी नगरपालिका, स्थानीय संघसंस्था र सहयोगी दाताहरुको रकमबाट कार्यक्रम सम्पन्न गर्ने बताए । पौष ९ गते नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गर्ने छन् भने, १० गते संघीय सांसद एलपी साँँवा लिम्बु प्रमुख अतिथिको रुपमा रहने आयोजक किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षीले जनाएको छ ।
कार्यक्रम सबै समुदायहरुको साझा भएकाले च्याम्ब्रुङ नाच, सन्थाल नाथ, मारुनी नाच लगायत विभिन्न जातजातिका नाचहरु प्रस्तुत गरिने । धनुषकार्ड, छेलो हान्ने खेललगायतका प्रतियोगिताहरुको आयोजना गरिने अध्यक्ष जवेगुले जानकारी दिए । कार्यक्रमका लागि ८० हजारको लागतमा लिम्बु समुदायको मौलिक घर निर्माण गरिने उनको भनाई छ ।
कार्यक्रममा लिम्बु जातिका भेषभुषा प्रदर्शनी, जातिय नृत्य, राष्ट्रिय कलाकार हिमाल सागर, सविना नेम्वाङ्ग लगायत स्थानीय बेन्डहरुको बजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न विभिन विधामा समिति गठन गरिएको छ । जसमा आर्थिक संयोजक सन्तोष थोप्रा, मौलिक घर संयोजक प्रेम सेर्मा, टेन्ड संयोजक भिम लिवाङ्ग, कार्यक्रमस्थल मिलाउने संयोजकमा प्रकाश साँवा, ड्रम साउण्ड संयोजक शिशिर तुम्बापो रहेको आयोजक समितिका सचिव प्रेम सेर्माले जानकारी दिए । उनले कार्यक्रममा सहयोगी संस्थाहरुमा नानीफङ्वा चुम्लुङ, सतासीधाम जेसीज, दुधे बजार विकास समिति, आइतबारे बजार विकास समिति, लाइन्स क्लब अफ शिवसताक्षी, रेडक्रस, शिक्षक मञ्च, प्याप्सन शिवसताक्षी रहेका छन् ।
चासोक तङ्नाम लिम्बू समुदायले महान चाडको रुपमा मनाउँदै आएको चाड हो । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।
लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ। लम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
