सुरुङ्गा, ८ पौष–सुवास राउत स्वदेश फर्काऔं अभियानको आयब्यय सार्वजनिक गरिएको छ । अभियानले आइतवार (आज) झापाको कनकाई–४ स्थित सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियानको आम्दानी र खर्च सार्वजनिक गरेको हो ।

३ बर्ष अघि बैदेशिक रोजगारको सिलसिलामा कतारमा रहँदा साथीको हत्याको आरोपमा मृत्युदण्डको सजाय पाएर कतारको जेलमा रहेका कनकाई–४ का ३१ बर्षिय राउतलाई स्वदेश फर्काउने अभियान शुरु गरिएको थियो । उनलाई स्वदेश फर्काउनका लागि शुरु गरिएको अभियानबाट संकलित रकमको अभियानले पत्रकार सम्मेलन गरेर हिसाब सार्वजनिक गरेको हो ।

अभियानद्धारा हिसाव सार्वजनिक, बचत भएको रकम कनकाई बाल शिक्षा केन्द्रलाई सहयोग गरिने

अभियानले संस्थागत, ब्यक्तिगत, बिदेशमा रहेका नेपालीहरुसहितबाट २० लाख २४ हजार ६५० रुपैयाँ संकलन गरेर राउतलाई नेपाल फर्काउन सफल भएको पत्रकार सम्मेलनमा बताइएको छ । अभियानले ब्लड मनिबापत मृतकको परिवारलाई १५ लाख रुपैयाँ प्रदान गरेको कागजात कतार पठाएपछि राउत ३ बर्षपछि घर फर्किएका छन् ।

१५ लाख ब्लडमनीसहित बिबिध कार्यमा अभियानले खर्च गरेर रहेको रकम कनकाई–४ मा सञ्चालित कनकाई बाल शिक्षा केन्द्रलाई सहयोग गर्ने भएको पत्रकार सम्मेलनमा बताइएको छ । सवै खर्च कटाएर रहेको करिब २ लाख ७१ हजार रुपैयाँ केन्द्रलाई दिने भएको हो । अभियानका संयोजक गोबिन्दप्रसाद पौडेलको अध्यक्षतामा भएको आयब्यय सार्वजनिक कार्यक्रममा संघीय सांसद एलपी साँवाको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत कनकाई वडा नम्बर ४ का वडाध्यक्ष रोशन सुवेदीले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश दीपक चापागाईले पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि साँवा, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेललगायतले आ–आफ्नो भनाई राखेका थिए ।

अभियानका सचिव युगल दवाडीले आयब्यय सार्वजनिक गरेका थिए भने कार्यक्रमको सञ्चालन धमेन्द्र सुवेदीले गरेका थिए । त्यस्तै सामाजिक सञ्जालमार्फत ध्रुव फुयालले सहयोगका लागि बिभिन्न गतिबिध सञ्चालन गरेको बताए । कार्यक्रममा पूर्वमन्त्री हिराकुमार थापा, कनकाई नगर उप–प्रमुख आशाशर्मा शिवाकोटी, कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाईलगायतको उपस्थिति रहेको थियो ।

यता १५ दिनअघि नेपाल फर्किएका राउतले सवैको साथ र सहयोगका कारण नेपाल फकिएर परिवारका साथमा बस्न पाएको भन्दै अभियानसहित सबैलाई धन्यबाद दिदै खुसी ब्यक्त गरे । उनका अनुसार सन् २०२० मा साथीको हत्यामा उनलाई कतारमा मृत्युदण्डको सजाय भएको थियो ।

राउतलाई कतारमा एउटै कोठामा बस्दै आएका खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ५ का लामाकाजी राईको हत्याको आरोपमा कतारमा मृत्युदण्डको सजाय भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *