दमक, ९ पौष–इसाई धर्मालम्वीहरुले आज ख्रीष्टमस भब्यताका साथ मनाएका छन् । २५ डिसेम्बरका दिन इसाई धर्मालम्वीहरुले ख्रीष्टमस मनाउदै आइरहेका छन् ।

यसैवीच, झापाको दमकमा पनि इसाई धर्मालम्वीहरुले ख्रीष्टमसमा विभिन्न कार्यक्रमहरु गरी खुसियाली साटासाट गरेका छन् । दमकमा ४० को हाराहारीमा मण्डलीहरु छन् । सो मण्डलीहरुले ख्रीष्टमसमा कार्यक्रम गर्दै आइरहेका छन् ।

आशिष प्रेस्विटेरियन स्वतन्त्र मण्डलीले आज (सोमबार) दमक–१ मा नवनिर्मित भवनमा ख्रीष्टसमको वृहत कार्यक्रम गरी मनाएको छ । त्यस्तैं, दमक–२ खरखरेस्थित गुड न्यूज चर्चमा पनि ख्रीष्टस मनाइएको छ । यता, दमक–५ स्थित ज्योति चर्च मण्डलीमा पनि ख्रीष्टमसका विभिन्न कार्यक्रमको आयोजना गरिएको पाष्टर अजय पाठकले जानकारी दिनुभयो ।

दमककै पुरानो सो मण्डलीमा ख्रीष्टमसको अवसरमा बाइबल दर्शन र ख्रीष्टमसको बारेमा प्रवचन कार्यक्रम गरिएको सो मण्डलीका एल्डर गोपाल हस्दाले बताउनुभयो । गुड न्यूज चर्च मण्डलीका पाष्टर राजकुमार नाछिरिङ राईले ख्रीष्टमसको अवसरमा बालबालिकाहरुको शैक्षिक विकासमा सघाउ पुगोस भनेर शैक्षिक सामाग्रीहरु उपहार प्रदान गरिनुका साथै गीत, भजन, नृत्यद्धारा मनोरञ्जनात्मक कार्यक्रम गरिएको बताउनुभयो । अन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष समेत रहनुभएका पाष्टर राईले ख्रीष्टमसको कार्यक्रमबीच शुभकामना आदानप्रदान गरिनुका साथै प्रेम भोजन गरिएको जानकारी दिनुभयो ।

ख्रीष्टमसको अवसरमा आशिष प्रेस्टिवेरियन स्वतन्त्र मण्डलीले जेष्ठ नागरिक सम्मान, एकल महिला सम्मान, अशक्त सम्मान र भवन निर्माणकार्यमा जुट्नुहुने दाताहरुलाई सम्मान गरिएको छ । त्यस्तैं, ख्रीष्टको जन्मदिनको अवसरमा त्यहाँ केक काटेर शुभकामना आदानप्रदान गरिउको थियो । दमक–१ सुनौलो टोलमा नवनिर्मित मण्डलीको नयाँ भवनमा कार्यक्रम आयोजना गरिएको थियो ।

मण्डलीका पाष्टर रेभ आकाश थुलुङ राईको अध्यक्षतामा र दमक–१ का वार्ड अध्यक्ष हरि न्यौपानेको प्रमुख आतिथ्यतामा सो कार्यक्रम भएको हो । सम्मानित हुने जेष्ठ नागरिकहरुमा मित्रप्रसाद निरौला (८४), जसमाया पाण्डे (९२) छन् भने एकल महिलाहरुमा सम्मानित हुनेहरुमा पवित्रा राई, आशा राई, पुजा दनुवार राई, जहिरा राई, सन्तकला राई, बुद्धमाया लावोती, निशा सुनाम, आशा राई, शारदा थापा मगर, मनमाया पुर्कुटी छन् । त्यस्तैं, कार्यक्रममा शारिरिक अशक्तहरुबाट सम्मानित हुनेहरु दिलिप श्रेष्ठ र फौद्धसिंह थुलुङ राई छन् ।

एल्डर शरण रणपहेलीले कार्यक्रमको शुभारम्भमा प्रार्थना गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि दमक १ का वार्ड अध्यक्ष हरिप्रसाद न्यौपाने, सुनौलो टोल विकास संस्थाका अध्यक्ष गणेश निरौला, स्थानीय बुद्धिजीवि राजकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमम मण्डलीका तर्फबाट एल्डर पावल राईले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तैं, स्वागत नृत्य र स्वागत भजन समेत स्थानीय मण्डलीका कलाकारहरुले प्रस्तुत गरेका थिए । सो अवगसरमा ख्रीष्टमसको सन्देश मण्डलीका पाष्टर रेभ आकाश थुलुङ राईले प्रवचन राख्नुभएको थियो ।

मण्डलीका एल्डर दमकका उद्योगी व्यवसायी सुरज लिम्बूले सञ्चालन गर्नुभएको कार्यक्रममा एल्डर सहरमान राईले ख्रीष्टको जन्मदिनमा केक काट्नुअघि प्रार्थना गर्नुभएको थियो भने दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले कार्यक्रम समापन अघि सहभागि पाहुनाहरुलाई धन्यवादसहित प्रार्थना गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *