दमक, १६ पौष–झापाको बिर्तामोडमा सम्पन्न जिल्ला स्तरीय प्रथम बिर्तामोड मेयर कप तेक्वान्दो प्रतियोगिताका पदक विजेता पाँच जना खेलाडीहरुलाई दमकमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
दमकबाट सहभागी भई दुई स्वर्णं पदकसहित कूल पाँच पदक जित्न सफल खेलाडीहरुलाई सगरमाथा तेक्वान्दो डोजाङले आज आइतबार दमकस्थित सर्वोदय बोर्डिङ स्कूलको प्राङगणमा आयोजना गरेको संक्षिप्त कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापासहितले बधाई दिँदै आगामी दिनमा थप प्रगतिका लागि खेलाडीहरुलाई शुभकामना दिएका हुन ।
डेल्टा तेक्वान्दो डोजाङले आयोजना गरेको सो प्रतियोगितामा दमकस्थित नेपाल सगरमाथा तेक्वान्दो डोजाङका खेलाडीहरु २८ केजीतर्फ नामलिङ लिम्बू र २५ केजीतर्फ युवाहाङ लिम्बूले स्वर्ण पदक जितेका थिए भने यसैगरी, प्रतियोगितामा दमकबाट सहभागी सेमिना राईले पुम्से विद्यामा कास्य पदक जित्न सफल भएकी थिइन भने प्रतियोगिता अन्तर्गत महिलाहरुको ४६ केजीतर्फ लाजिमा लिम्बू, ४९ केजीतर्फ महिला खेलाडीमा प्रिन्सिसेस राईले कास्य पदक जित्न सफल भएका थिए ।
उनीहरु सबैलाई बधाई ज्ञापन गर्दै नगर प्रमुख थापाले खेलका माध्यमबाट खेलाडी र समाजनै अनुशासित बन्न टेवा पुग्ने विचार व्यक्त गरे । उनले खेलकुदका क्षेत्रमा छिट्टै नगरपालिकाले विशेष महत्वको काम गर्न लागेको बताउँदै सम्बन्धित क्षेत्रका अनुभवीहरुबाट यसमा सकारात्मक सहयोगको अपेक्षा गरिएको पनि उल्लेख गरे ।
सगरमाथा डोजङका युकेस्थित अध्यक्ष रन्दिप राईको अध्यक्षता र संविधानसधाकी सदस्य समेत रहेकी नेपाल सगरमाथा तेक्वान्दो डोजाङकी सल्लाहकार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको विशेष आतिथ्य रहेको कार्यक्रममा सर्वोदय अंग्रेजी विद्यालयका संस्थापक प्रिन्सिपल तथा सगरमाथा तेक्वान्दो डोजाङका उपाध्यक्ष नविन योगीले स्वागतसहित कार्यक्रमको औचित्यबारे प्रष्टयाएका थिए ।
