दमक, २० पौष–नेकपा (एमाले) को आज सम्पन्न केन्द्रीय सचिवालय बैठकले झापा अध्यक्ष दिपक कार्कीसहित ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ । गौरादह निवासी कार्की संविधानसभाका दुई पटक निर्वाचित सदस्य हुन् । उनी, तत्कालिन गौरादह गाविसका निर्वाचित गविस अध्यक्ष समेत हुन् ।
केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएका ५ जना नेताहरुसहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।
महासचिव शंकर पोखरेलले बैठकपछि दिएको जानकारी अनुसार निवर्तमान प्रदेश कमिटीका अध्यक्षहरु तुल्सीप्रसाद न्यौपाने, रामअवतार यादव, केशवराज पाण्डे, बिनोद शाह र दामोदार भण्डारीलाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।
यस्तै बैठकले झापा जिल्ला अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनित गरेको महासचिव पोखरेलले बताए । महासचिव पोखरेलले प्रदेश नेतृत्वमा रहेका ५ जना नेताहरु र लामो समय झापा जिल्लाको नेतृत्व गरिरहेका कार्की लाई केन्द्रीय सदस्य मनोनित गरेको जानकारी दिएका हुन् ।

