विराटनगर, २१ पौष—नेकपा (एमाले) कोशी प्रदेश समितिले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि आठ जनाको नाम सिफारिस गरेको छ । एमालेले कोशीबाट चार पुरुष र चार महिलाको नाम उम्मेदवारका लागि पठाएको हो । जसमा झापाका उमानाथ ओली र हरिशचरण बानियाँ, भोजपुरका पर्शुराम अधिकारी र खोटाङका कर्ण घले छन् ।
त्यस्तै, महिलातर्फ सुनसरीकी रुकमणी कोइराला, मोरङकी नेचीमाया धिमाल, झापाकी रोशनी मेचे र उदयपुरकी कान्ता राई छिन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन आठ जनाको नाम सिफारिस गरिएको प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले बताए ।
यसअघि कांग्रेसले कोशीबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, सुजता कोइराला, महेश आचार्य र मिनेन्द्र रिजालसहित ६३ जनाको नाम सिफारिस गरिसकेको छ ।
आगामी माघ ११ गते हुने निर्वाचनमा कोशी प्रदेशबाट अन्य १ र महिला १ गरी २ पदकालागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष मतदाता हुन्छन् ।

