अर्जुनधारा, २२ पुस–झापा अर्जुनधारा नगरपालिका–११ का विनोद विश्वकर्मा मलेसिया गएको २० बित्यो । वैदेशिक रोजगारीको शिलशिलामा त्यहाँ गएका उनको अहिलेसम्म अत्तोपत्तो छैन । आर्थिक अवस्था कमजोर भएका उनी २०६० सालमा २२ वर्षको युवा अवस्थामा मलेसिया भासिएका थिए ।

पारिवारिक अवस्था उकास्ने मूल ध्येयका साथ विदेशिएका उनकी ६६ वर्षीया आमा सुकमाया विश्वकर्माले बताउँदै भनिन्, ‘२२ वर्षको हुँदा मलेशिया गएको थियो । गएको ४ वर्षसम्म सम्पर्कमा नै थियो । त्यहाँदेखि छोरो सम्पर्कमा छैन । मलेसिया गएको २० वर्ष भइसक्यो । छोरो अहिले ४२ वर्षको भयो । कहाँ छ, के गर्दै छ । अहिलेसम्म केहि थाहा पत्तो लागेको छैन ।’ १६ वर्षयता उनी परिवारको सम्पर्क नरहेको आमा सुकमायाले बबताइन् ।

सुकमायाका ३ छोरा र २ छोरी छन् । विनोद घरको जेठा छोरा हुन् । माइला भीम घरमा आमा–बुबासँगै छन् भने कान्छा छोरा टेकबहादुर कमाउन विदेश जाने तयारीमा काठमाडौँमा भौतारिरहेका छन् । दुईजना छोरीहरु रुमा र लीलाको विहे भइसकेको छ । उनका ७१ वर्षीय श्रीमान विरबहादुर घरैमा छन् । उनी धामीको रुपमा झारफुक गर्छन । विरबहादुरका अनुसार गएको ४ वर्षपछि म विरामी भएको बेला छोरासँग अन्तिम पटक कुराकानी भएदेखि अहिलेसम्म सम्पर्कमा आएको छैन ।

घरको अवस्था देखेर कमाउन गएको छोरो अहिलेसम्म फर्केर नआएपछि हामी चिन्तामा रहेको विरबहादुरले सुनाए । विरबहादुर भक्कानिदैँ भन्छन्–‘विभिन्न सपना बोकेर कमाउन विदेश गएको छोरोले न पैसा पठायो, न मान्छे नै आइपुग्यो । पैसा नपठाए पनि छोरो सकुशल घर आईदे हुन्थ्यो ।’ सुकमायाले त्यतिखेर ९० हजार ऋण खोजेर छोरालाई आफ्नै भाइ नरबहादुर मार्फत स्थानीय विकास सुब्बा ९डोले० ले काठमाडौँको एक म्यानपावरबाट मलेशिया पठाएको बताइन् ।

छोराले ९० हजार ऋण तिरेर श्रीमान विरामी हुँदा थप २० हजारसहित एकलाख रुपैयाँ पनि पठाएको सुकमायाको भनाई छ । तर, त्यसपछि पैसा पनि पठाएन, छोरो पनि सम्पर्कमा नआएको उनले बताइन् । उनले छोरा जहाँ, जस्तो अवस्थामा भएपनि खोजी गरिदिन सबैलाई आग्रह गरेकी छिन् ।

८–९ वर्षअघि स्थानीय हरिचन्द्र राउत मलेशिया गएका थिए । राउतलाई त्यसबेला विनोदले मलेशियाको पेनाङस्थित बल्क्षी फेक्ट्रीमा काम गरिरहेको बताएका थिए । हरिचन्द्र र विनोदको रुम नजिक रहेको थियो । उनीहरुले रासन खाने ठाउँ एउटै थियो । विनोदसँग त्यहिँ भेट भएको हरिचन्द्रले बताएका थिए ।

हरिचन्द्रका अनुसार विनोदसँग भेट हुँदा घरजान मन थियो भनेका थिए । तर, एकवर्ष म्याद थपेकोले जान नपाइने भयो भनेर कुरा गरेको हरिचन्द्रले बताएका थिए । हरिचन्द्र घर आए तर, विनोद अहिलेसम्म घर आएका छैनन् । विनोदका परिवारले ५ वर्षअघि डोलेसँग कुन म्यानपावरबाट छोरालाई पठाएको हो खोजी गरिदिन आग्रह गरे । डोलेले कुन म्यानपावरबाट हो मैले पनि विर्सिसके भन्ने जवाफ दिएको सुकमायाको गुनासो छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *