काठमाडौँ, २३ पौष–शुल्क नतिरेको भन्दै मोरङको विराटनगर महानगरपालिका–९, स्थित सरस्वती माध्यमिक विद्यालयले सयभन्दा बढी विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरेको घटनाप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले गम्भीर आपत्ति जनाएको छ।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूकी अध्यक्ष आरती लामाले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई परीक्षा शुल्कबापत डेढदेखि दुई सय रुपैयाँ उठाउने गरेको र उक्त रकम नतिरेको भन्दै विद्यार्थीलाई परीक्षा हलबाट निकालेको विषय अत्यन्त गम्भीर र आपत्तिजनक छ।’
सरस्वती माध्यमिक विद्यालयको व्यवहारले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने संवैधानिक व्यवस्थामै प्रहार भएको उल्लेख गर्दै सत्तारुढ नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले उक्त कदम तुरुन्तै सच्याई ती विद्यार्थीलाई चाँडोभन्दा चाँडो बिनासर्त परीक्षामा सामेल गराउन आग्रहसमेत गरेको छ।
साथै सोही विज्ञप्तिमार्फत अनेरास्ववियूले देशभरिका सरकारी विद्यालयलाई कुनै पनि बहानामा पढ्न पाउने विद्यार्थीको संवैधानिक अधिकार हनन नगर्न सचेत पनि गराएको छ।
