काठमाण्डौं, २४ पौष–प्रमुख विपक्षी दल नेकपा (एमाले) ले काठमाडौंकेन्द्रित आन्दोलन गर्ने गरी गृहकार्य सुरु गरेको छ। सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गरेको तथा राष्ट्रियता र स्वाधीनतामाथि गम्भीर आँच पुग्ने काम गरेको निष्कर्ष निकाल्दै एमालेले आन्दोलनको गृहकार्य सुरु गरेको हो।
मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित जनसंगठन समन्वय संयन्त्रको बैठकमा महासचिव शंकर पोखरेलले सबै जनसंगठनहरूलाई आन्दोलनको गृहकार्य अगाडि बढाउन निर्देशन दिए।
सरकारको गैरजिम्मेवारीले सीमा नाघेका कारण सही ठाउँमा आउन बाध्य बनाउने गरी आन्दोलनको तयारी गर्नुपर्ने बाध्यता देखिएको उनको भनाइ थियो। संयन्त्रको बैठककलगत्तै जनसंगठनहरूले सरकारविरुद्ध प्रदर्शन गर्ने गरी तयारी गर्ने जानकारी गराएका छन्।
‘सरकार हरेक क्षेत्रमा असफल भयो, मुलुकको स्वाधीनतामाथि पनि गम्भीर आँच आउने खालका काम गरिरहेको छ, अब यो सरकारलाई ठेगान लगाउने गरी आन्दोलनको तयारीमा जुटनुपर्छ भन्ने निष्कर्षमा पार्टी पुगेको छ,’ बैठकमा महासचिव पोखरेलको भनाइ उद्धृत गर्दै जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले भने, ‘निकट भविष्यमा राजधानीकेन्द्रित भएर केही गतिविधि गर्नुपर्छ कि भन्ने ढंगले हामीले सोचिरहेका छौँ। यो कामको तयारीमा सबै जनसंगठन लाग्नोस्।’
