काठमाडौं, २ माघ–‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– मनाइँदैछ।

दिवस मनाउन गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा कार्यक्रम आयोजना हुनेछ। दिवसको मुख्य कार्यक्रम मंगलबार चन्द्रागिरी नगरपालिकामा हुँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृह मन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका उप–सचिव एवं प्रवक्ता ध्रुव बहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ।

तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना हुनेछ। दिवसको सन्दर्भमा यही पुस २८ देखि माघ १५ सम्मसरकारी निकाय, संघसंस्थाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रम निर्धारित रहेको प्रवक्ता खड्काले जानकारी दिए।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइन्छ। दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्यूडको भूकम्पले जनधनको ठूलो क्षति पुर्‍याएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार १९९० सालको भूकम्पमा परी आठ हजार ५१९ जनाको मृत्यु भएको थियो। ८० हजार घर ध्वस्त भएका थिए। ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार २४८ संरचना भत्किएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *