काठमाडौं, ४ माघ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनलाई देशद्रोहीको संज्ञा दिएका छन्। पार्टी निकट नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलहरू भ्रष्टाचार र तस्करीको संरक्षक भएको आरोप पनि लगाए।

‘गठबन्धनमा भएका सबै लोभिपापीहरू हुन्। यिनीहरूको घाँटी मात्र होइन सिंगै शरीर जोडिएको छ। यी एकै वंश, एकै नश्लका हुन्। यिनको गोत्र निकम्मा हो। यिनको जात देशद्रोही हो। यिनीहरू एकै ठाउँमा बस्छन्।’ ओलीले भने।

गठबन्धनका कुनै पनि दलले आफूहरूसँग एक्लै भिड्ने आँट गर्न नसक्ने भन्दै उनले सरकार अहिले बुख्याँचाजस्तो भएको टिप्पणी गरे।

‘गठबन्धनमा रहेका हाम्रा विरोधी कोही पनि हामीसँग एक्लै भिड्ने आँट गर्दैनन्। सबै जोडेर सरकार बनाएका छन्। सरकार तरकारी बारीको बुख्याँचा जस्तो छ। अहिले त्यसका टाउकामा सुगा पनि बस्छ, काग पनि बस्छ। किनभने सबैले चिनिसके यसले केही गर्दैन।’ ओलीले भने, ‘यो सरकार निकम्मा मात्र होइन भ्रष्टाचारको संरक्षक, तस्करीको संरक्षक, कमिशनखोरीको आयोजक र संरक्षक हो।’

उनले आफूहरू मिसन ८४ मा रहे पनि त्यसअघि नै निर्णायक आन्दोलन गर्नसक्ने संकेत गरे। सरकारविरुद्ध निर्णायक आन्दोलन गर्ने भन्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन पनि उनले आग्रह गरेका छन्।

‘हामीले जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने अवस्था छ। त्यसअघि सशक्त रुपमा हामीले आफूलाई सुसंगठित गर्नुपर्नेछ। पार्टीले जति बेला सिट्ठी बजाउँछ त्यति बेला आन्दोलनका मैदानमा दौडिएर पुग्नेगरी तयारी अवस्थामा रहनुहोला।’ ओलीले भने, ‘हामीलाई धेरै दिनको समय नहुन सक्छ। छोटो ३ दिनको तयारीमा हामी राष्ट्रिय आन्दोलनमा उत्रिनुपर्ने हुनसक्छ। अहिले हामी निर्णायक लडाइँ लडिरहेका छौं। उनीहरूले जस्तोसुकै प्रहार गर्न सक्ने अवस्था छ। उनीहरू आतंकित छन्। एक्लै लड्न सक्दैनन्। हामी एक्लै ८० सिट ल्याउँछौँ। उनीहरू एक्लै भए भने २०र३० सिट पुऱ्याउने कोही हुँदैन। समानुपातिकको भोट नहुने हो भने यिनीहरुको बेहाल हुन्छ। गठबन्धन देशका लागि हानिकारक र घातक छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *